इंग्लिस क्लब आर्सनल १४ वर्षपछि युरोपेली च्याम्पियन्स लिगको क्वाटरफाइनलमा प्रवेश गरेको छ । पोर्चुगिज क्लब एफसी पोर्टोलाई पेनाल्टी सुटआउटमा ४-२ ले पराजित गर्दै आर्सनल अन्तिम ८ मा पुगेको हो ।
प्रिक्वाटरफाइनल पहिलो लेगमा १-० ले पराजित भएको आर्सनलले घरेलु मैदानमा भएको दोस्रो लेग १-० ले जित्दै समग्रमा १-१ को बराबरी गरेको थियो । दोस्रो लेगको खेलपछि नतिजा १-१ को बराबरी भएपछि खेलको निर्णय पेनाल्टीसुटआउटबाट भएको हो । जसमा आर्सनलका लागि मार्टिन ओडेगार्ड काई हाभार्ट बुकायो साका र डेक्लान राइसले गोल गरे । यस्तै आर्सनलका गोलकिपर डेविड रायाले पोर्टोका वेन्डेल र गालेनोको पेनाल्टी प्रहार बचाएका थिए । पोर्टोका लागि पेपे र मराको ग्रुजिकले मात्र पेनाल्टीमा गोल गरे ।