
काठमाडौं
फोर नेसन्स वुमन्स इन्टरनेसनल च्याम्पियनसिपअन्तर्गत बिहीबार म्यानमारले किर्गिस्तानविरुद्ध एकतर्फी जित निकाल्दै ५-० को सहज जितनिकालेको छ।
दशरथ रंगशालामा सम्पन्न खेलमा म्यानमारले खेलको सुरुवातदेखि नै दबाबमा राखेको थियो । खेलको दोस्रो मिनेटमै युन वाडीले पहिलो गोल गर्दै म्यानमारलाई अग्रता दिलाइन्।
त्यसपछि म्यानमारले लगातार आक्रमण जारी राख्यो। ३०औं मिनेटमा स्यान्डर लिनले दोस्रो गोल थपिन् भने ३५औं मिनेटमा मे हेट लुले तेस्रो गोल गर्दै म्यानमारको अग्रता फराकिलो बनाएकिहुन् ।
खेलको ४१औं मिनेटमा युन वाडीले व्यक्तिगत दोस्रो गोल गर्दै पहिलो हाफमै म्यानमारलाई ४-० को स्कोरमा पुर्याइन्।
दोस्रो हाफमा पनि म्यानमारको खेल अझै आक्रामक रह्यो। खेलको ४९औं मिनेटमा मे हेट लुले पुनः गोल गर्दै म्यानमारको जितलाई ५-० को उत्कृष्ट जितमा परिणत गरिन्।
किर्गिस्तानले गोलरहित रहे पनि केही अवसर सिर्जना गरेको थियो। तर, म्यानमारको बलियो डिफेन्सलाई भेद्न सकेन। कप्तान तथा गोलकिपर दिलनुरा अबिबुल्लाले किर्गिस्तानको लागि उत्कृष्ट प्रदर्शन गर्दै म्यानमारका थप प्रहारलाई असफल बनाइन्।
च्याम्पियनसिप अन्तर्गत बिहीबार नै अर्को खेलमा नेपाल र लेबनानबीच प्रतिस्पर्धा हुँदैछ।
दशरथ रंगशालामा हुने खेल साँझ ६ बजे सुरु हुनेछ।