डडेलधुरालाई हराउँदै अत्तरियाले जित्यो अर्जुन ट्रफी

फ्रेन्ड्स युथ क्लब डडेलधुरालाई पराजित गर्दै सिवाइसी अत्तरियाले अर्जुन ट्रफी जितेको छ। सोमबार सम्पन्न फाइनलमा अत्तरियाले ३४ रनको सानदार जित हात पारेको हो।

अत्तरियाले दिएको ११९ रनको लक्ष्य पछ्याएको डडेलधुराले १२ बल बाँकी रहँदा सबै विकेट गुमाएर ८४ रन मात्रै बनाउन सक्यो।

डडेलधुराका गजेन्द्र बोहराले सर्वाधिक २४ रन बनाइन्। २८ बल खेली उनले तीन चौका प्रहार गरे। कुशल भुर्तेल २० र अशोक धामी ११ रनमा आउट हुँदा अन्य ब्याटरले दोहोरो अंकमा रन बटुल्न सकेनन्।

अत्तरियाका दीपेश कँडेल र शहब आलमले समान तीन विकेट लिए। कमल गुप्ता र विवेककुमार यादवले समान दुई विकेट आफ्नो नाममा लेखाए। 

त्यसअघि कैलालीको धनगढीस्थित फाप्ला क्रिकेट मैदानमा टस जितेर पहिला ब्याटिङ थालेको अत्तरियाले नौ विकेट गुमाउँदै ११८ रन बनायो।

अत्तरियाका विवेकले सर्वाधिक ३१ रन बनाए। २१ खेली उनले एक चौका र तीन छक्का प्रहार गरे। कप्तान सन्तोष कार्की र शंकर राणाले समान २० अंक जोडे। सन्दीप क्षेत्री १२ र विवेक ११ रनमा आउट भए।

डडेलधुराका अविशेक गौतमले सर्वाधिक चार विकेट लिए। अजय चौहान र कुशल भुर्तेलले समान एक विकेट लिए।

 सिवाइसी अत्तरियाका अलराउन्ड विवेककुमार यादव अर्जुन ट्रफीको उत्कृष्ट खेलाडी घोषित भएका छन्।

कैलालको धनगढीस्थित फाप्ला क्रिकेट मैदानमा सोमबार सम्पन्न फाइनलमा अत्तरियाले फ्रेन्ड्स युथ क्लब डडेलधुरालाई ३४ रनले पराजित गर्दै उपाधि हात पारेको थियो। 

पहिलो संस्करणमै अत्तरियालाई उपाधि दिलाउन ब्याटिङतर्फ पाँच इनिङ्समा १५२ रन बनाए। बलिङतर्फ भने उनले १० विकेट लिए। उनले एक लाख रुपैयाँ प्राप्त गरे।

प्रतियोगिताको उत्कृष्ट बलर र ब्याटर भने डडेलधुराका कुशल भुर्तेल भए। उनले प्रतियोगितामा सर्वाधिक १३ विकेट लिए। ब्याटिङतर्फ भने उनले १६८ रन बनायो। उनी नै सर्वाधिक रनकर्ता बने।

प्रतियोगिताको उदीयमान खेलाडी भने डिसिए धनगढीका हिक्मत महरा रहे। कुशलले एक लाख पाउँदा हिक्मतले ५० हजार रुपैयाँ प्राप्त गरे।

Share

जवाफ लेख्नुहोस्

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ