यस वर्षको एनएसजेएफ अग्रज खेलकुद पत्रकारिता अवार्डबाट वरिष्ठ पत्रकार श्रीविक्रम भण्डारी र सुमन भोम्जन स्मृति युवा खेल पत्रकारिता पुरस्कारबाट विनयज्योति सापकोटा सम्मानित भएका छन् ।
नेपाल खेलकुद पत्रकार मञ्चले २९औं स्थापना दिवसका अवसर पारेर सोमबार ललितपुरको कोरियन बारबेक्युमा आयोजित कार्यक्रममा मेरो खेल डटकमका सम्पादक भण्डारी र कान्तिपुर टेलिभिजनका सापकोटालाई सम्मान गरेको हो ।
अग्रजलाई सम्मान र युवालाई प्रोत्साहन भन्ने नाराका मञ्चले हरेक वर्ष स्थापना दिवसको अवसरमा यो अवार्ड दिँदै आएको छ । पछिल्लो एक दशकदेखि मन्चले यो अवार्ड गर्दै आएको थियो । युवा तथा खेलकुदमन्त्री तेजुलाल चौधरी, राष्ट्रिय खेलकुद परिषद्का सदस्यसचिव टंकलाल घिसिङ, बागमति प्रदेश खेलकुद परिषदका सदस्य रवि महर्जन, एनएसजेएफका कार्यवहाक अध्यक्ष निरन्जन अधिकारी र महासचिव प्रज्ज्वल ओलीले वरिष्ठ पत्रकार भण्डारीलाई २५ हजार नगद, ताम्रपत्र र दोसल्ला ओढाएर सम्मान गरे । भण्डारीले २०४४ सालदेखि खेलकुद पत्रकारिता गर्दै आएका छन् ।
त्यस्तै खेलकुदमन्त्री चौधरीले युवा पत्रकार सापकोटालाई ल्यापटप र ताम्रपत्र प्रदान गर्दै सम्मान गरेका थिए। सापकोटा पछिल्लो ६ वर्षयता खेलकुद पत्रकारितामा सक्रिय छन् ।
