शीतकालीन एसियाली खेलकुदमा नेपालका चार खेलाडी

चीनको हार्विनमा भइरहेको नवौं शीतकालीन एसियाली खेलकुदमा नेपाली खेलाडीले सन्तोषजनक प्रदर्शन गरेका छन् । प्रतियोगितामा नेपालका चार खेलाडीको सहभागिता छ । 

त्यसमध्ये पुरुष स्लालम रन १ मा सफलराम श्रेष्ठ प्रतिस्पर्धीमध्ये ३५ औं स्थानमा रहे । रन १ मा उनले १ मिनेट ००.८१ सेकेन्डमा दुरी पार गरे । ४५ प्रतिस्पर्धीले सफल हुँदा नेपालका चोवाङ मिङ्गुर तामाङले पूरा गर्न सकेनन् । रन–२ सफलराम २८औं स्थानमा रहे । उनले ५८.०५ सेकेन्डको समय लिए । ३९ प्रतिस्पर्धी सफल भएका थिए । जापानका ताकायुकी कोयमाले स्वर्ण, दक्षिण कोरियाका डोङयुन जङले रजत र जापानका निओ कामडाले कांस्य जिते । समग्रमा सफलराम २९ औं स्थानमा रहे ।

महिला स्लालम रन–१ र २ मा नेपालका दुवै खेलाडीले पुछारमा रहेर दुरी पूरा गरेका छन् । रन १ मा देबोरा तिमल्सिना ३९ र लक्ष्मी राई ४१ औं स्थानमा रहे । देबोराले १ मिनेट ३४.४६ सेकेन्ड र लक्ष्मीले १ मिनेट ३८.९१ सेकेन्डमा लगाए । रन २ मा देबोरा ३४ र लक्ष्मी ३५ औं स्थानमा रहे । देबोराले १ मिनेट ३२.४२ सेकेन्ड र लक्ष्मीले १ मिनेट ४३.२२ सेकेन्डमा दुरी पार गरे । ६ खेलाडीले दुरी पूरा गर्न सकेनन् । महिला स्लालमको स्वर्ण जापानकी चिसाकी माइदाले जितिन् ।

दक्षिण कोरियाकी सोहुई जिमले रजत र जापानकी इरेन वातानाबेले कांस्य जिते । नेपाल ओलम्पिक कमिटीका अध्यक्ष जीवनराम श्रेष्ठले पुरुष अल्पाइन स्लालम र महिला ५ किमि क्रसकन्ट्रीका विजेता खेलाडीलाई पदक वितरण गरेका थिए । श्रेष्ठ ओसीएका स्पोर्ट्स एन्ड इन्भारोमेन्ट कमिसनका अध्यक्ष समेत हुन् ।

Share

जवाफ लेख्नुहोस्

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ