सहिद दिवसको अवसर पारेर सभापतिकपको ट्रफी अनावरण

नेपाली काँग्रेस लोकतान्त्रिक खेलकुद सङ्घ महाधिवेशन निर्देशन समितिको आयोजनामा राजधानीमा जारी सभापतिकप फुटबल प्रतियोगिताको ट्रफी आज अनावरण गरिएको छ ।


बुधबार आयोजक महाधिवेशन निर्देशन समितिले सहिद दिवसको अवसर पारेर सहिद गेटमा ट्रफी अनावरण गरेको हो ।
माघ १० गतेदेखि सुरु भएको सर्वाधिक पुरस्कार राशिको नकआउट फुटबल प्रतियोगिताको फाइनलमा सङ्कटा क्लब र आयोजक लोकतान्त्रिक खेलकुद सङ्घ बागमती प्रदेश (बागमती) फाइनलमा प्रवेश गरिसकेका छन् ।

प्रतियोगिताको फाइनल खेल बिहीबार साँझ साढे ५ बजे दशरथ रङ्गशालामा सुरु हुने छ । प्रतियोगिताको विजेताले नगदै २६ लाख र उप विजेताले नगदै १३ लाख प्राप्त गर्ने छ । यसै गरी दैनिक प्लेयर अफ दी म्याचले १५ हजार पाउँदै आएका छन् भने प्रतियोगिताको फाइनल पछि सर्वोत्कृष्ट खेलाडीलाई ७५ हजार, उत्कृष्ट गोलकिपरलाई ५० हजार, सर्वाधिक गोलकर्तालाई ५० हजार र उदीयमान खेलाडीलाई २५ हजार प्रदान गरिने छ ।

फाइनल खेलको टिकट मूल्यमा भने परिवर्तन गरिएको छ । क्वाटर फाइनल र सेमिफाइनलसम्म रु एक सय र रु दुई सय तोकिएकोमा फाइनल खेलका लागि साधारणतर्फ २ सय र भिआइपीतर्फ ५ सय रुपैयाँ तोकिएको छ ।

Share

जवाफ लेख्नुहोस्

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ