कबड्डी लिग : प्रभावशाली प्रदर्शन गर्दै जनकपुर नाइट्स शीर्षस्थानमा

जनकपुर नाइट्सले केबी साम नेपाल कबड्डी लिग (एनकेएल)मा प्रभावशाली प्रदर्शन गर्दै शीर्षस्थान कब्जा गरेको छ ।

राष्ट्रिय खेलकुद परिषदको त्रिपुरेश्वरस्थित कभर्ड हलमा भइरहेको एनकेएलको लिग चरणमा जनकपुरले अपराजित रहँदै चार जित र एक बराबरीसँगै २३ अंक बनाएर शीर्षस्थान कब्जा गरेको हो । यससँगै जनकपुरले एनकेएलको क्वालिफायर १ खेल्ने पनि निश्चित गरेको छ ।

लिगका शीर्ष दुई टिमले क्वाफिाइर १ खेल्नेछन्। त्यसअनुसार जनकपुर र दोस्रो स्थानमा रहेको विराटनगरवीच क्वालिफाइर १ को प्रतिस्पर्धा हुनेछ। क्वालिफाइर १ को विजेता सीधै फाइनलमा प्रवेश गर्नेछ भने हार्ने टिमले फेरि मौका पाउनेछ।

६ सहरका ६ टिम सहभागी एनकेएलको पहिलो संस्करणमा जनकपुर नाइट्स (२३), विराटनगर ब्यान्डिट्स (२१), काठमाडौं माभरिक्स (१९) र धनगढी वाइल्डक्याट्स (११) ले लिगको शीर्ष चारमा रहँदै प्ले–अफमा स्थान बनाउँदा पुछारका दुई टिम पोखरा लेकर्स (४ अंक) र बुटवलको हिमालयन रेइडर्स (७ अंक) भने लिग चरणबाटै बाहिरिए।

एस्ट्रोनिक्स म्यानेजमेन्टद्वारा आयोजित एनकेएलमा ७ वा त्योभन्दा कम अन्तरको हारमा टिमले १ अंक पाउने प्रावधान छ। जित्ने टिमले ५ अंक र स्कोर बराबरी भएमा ३–३ अंक प्राप्त हुन्छ।

Share

जवाफ लेख्नुहोस्

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ