एनसेल पाँचौं टाइगर कप राष्ट्रिय तथा अन्तर्राष्ट्रिय क्लब महिला तथा पुरुष भलिबल प्रतियोगिताको महिलातर्फ सशस्त्र प्रहरी बल एपीएफले टिप टप न्यू डायमण्ड स्पोर्ट्स क्लबलाई ३–० को सोझो सेटमा पराजित गरेको छ ।
पोखरा रंगशालास्थित भलिबल कोर्टमा सोमबार भएको पहिलो खेलमा ‘जित्ने समूह’ अन्तर्गत एपिएफले न्यू डायमन्डलाई सोझो सेटमा पराजित गरेको हो ।
एपिएफले पहिलो सेट २५–२२, दोस्रो सेट २५–२३ र तेस्रो सेट २५–२१ को जित निकाल्न सफल भयो। एपिएफकी निरुता ठगुन्ना टाइगर अफ द म्याच घोषित भइन् ।
खेलको बेष्ट स्पाइकर न्यू डायमण्डकी सलिना बुढामगर बनिन् । आजबाट प्रतियोगितामा लिग चरणका खेलहरु सुरु भएको छ ।
सबै टोलीले एकएक खेल खेलेपछि अहिले जित्ने र हार्नेे टोलीको छुट्टाछुट्टै समूह बनेका छन् । ती समूहअन्तर्गत लिग खेल हुनेछ । एउटै समूहमा रहने टोलीले एकअर्कासँग खेल्नेछन् ।
आजै दोस्रो खेल महिलातर्फ हार्ने समूहका ट्राभल इन्क्वारी युनाइटेड प्यासन भलिबल क्लब थाइल्यान्ड र नेपाल पुलिस क्लबले खेल्नेछन् । तेस्रो खेल पुरुषतर्फ जित्ने समूहका भारतको सुनिल भलिबल क्लब र नेपाल पुलिस क्लबले प्रतिस्पर्धा गर्नेछन् ।
आइतवारको अन्तिम तथा चौथो खेल पुरुषतर्फ हार्ने समूह’का गण्डकी प्रदेश र टिपटप हेल्प नेपाल स्पोटर्स क्लबबिच हुनेछ । लिगपछि जित्ने समूहबाट शीर्ष दुई टोली फाइलन प्रवेशका लागि पहिलो क्वालिफायर खेल्नेछन् । तेस्रो स्थानमा रहने र हार्ने समूहबाट शीर्ष स्थानमा रहने टोलीले एलिमिनेटरमा भिड्नेछन् ।
पहिलो क्वालिफायरमा पराजित हुने टोली र एलिमिनेटरमा विजेता हुने टोलीले दोस्रो क्वालिफायर खेल्नेछ ।
हार्ने समूहबाट दोस्रो र तेस्रो स्थानमा रहने टोली प्रतियोगिताबाट बाहिरिनेछन् । टाइगर ग्रुप अफ पोखराको आयोजनामा भएको प्रतियोगिता माघ १९ गतेसम्म चल्नेछ ।
