कप्तान कञ्चन श्रेष्ठको अलराउन्ड प्रदर्शनसँगै बागमती प्रदेशले प्रधानमन्त्री कप राष्ट्रिय टी २० क्रिकेट प्रतियोगितामा विभागीय टोली त्रिभुवन आर्मी क्लबलाई पराजित गरेको छ। सोमबार सम्पन्न खेलमा बागमतीले १४ रनको जित हासिल गरेको हो।
बागमतीले दिएको ८२ रनको लक्ष्य पछ्याएको आर्मीले १३.२ ओभरमा सबै विकेट गुमाउँदै ६७ रन मात्रै बनाउन सक्यो। जारी प्रतियोगितामा बागमतीको यो पहिलो जित हो। समूह बी मा रहेको बागमती पहिलो खेलमा कोशी प्रदेशसँग १० रनले पराजित भएको थियो।
आर्मीले भने मधेश प्रदेशलाई १० विकेटले पाखा लगाएको थियो। आर्मीकी ओपनर अञ्जली विश्वकर्माले सर्वाधिक १४ रन बनाइन्। १६ बल खेलेकी उनले दुई चौका प्रहार गरिन्। नगिमा तामाङ १३ र कप्तान लक्ष्मी साउद १० रनमा आउट हुँदा अन्यले दोहोरो अंकमा रन बटुल्न सकेनन्।
बागमतीकी सोनु खड्का, मनीषा उपाध्यय र कञ्चनले समान दुई विकेट लिए। संस्कृति फुँयाल र विपिशा शाहीको नाममा एक/एक विकेट रह्यो।
