एसिसी महिला यु-१९ एसिया कप अन्तर्गत भारतसँगको खेलमा नेपालले अंक बाँडेको छ । मलेसियाको बायोमास क्रिकेट मैदानमा मंगलबार जारी खेलको दौरान वर्षा हुँदा विना नतिजा खेल रद्द भएको छ ।
यससँगै समूह चरणको दोश्रो तथा अन्तिम खेलमा नेपालले भारतसँग अंक बाँडेको हो । नेपालले दिएको ९५ रनको लक्ष्य पछ्याउने क्रममा भारतले ३.१ ओभरमा विना विकेटको क्षतिमा २८ रन बनाउँदै गर्दा वर्षा भएपछि खेल रोकिएको थियो ।
त्यसपछि खेल पुनः हुने सम्भावना नभएपछि रद्द भएको हो । त्यसअघि टस हारेर पहिले ब्याटिङको निम्तो पाएको नेपालले निर्धारित २० ओभरमा ८ विकेट गुमाउँदै ९४ रन बनाएको थियो ।
नेपालका लागि कप्तान पूजा महतोले २५ र अलिशाकुमारी यदावले अविजित २० रन बनाउनुबाहेक अन्य ब्याटरले दोहोरो अंकमा रन जोड्न सकेनन् । बलिङमा भारतका लागि परुनिका सिसोडियाले ४ तथा मिथाली र आनन्दिताले १-१ विकेट लिइन् ।
आजको नजितासँगै समूह चरणमा नेपाल र भारतले समान ३ अंक जोडेपनि नेटरनरेटका भारत विजेता र नेपाल उप-विजेता बन्दै सेमिफानइलमा पुगेका छन् ।
यसअघि सोमबार भएको पहिलो खेलमा पाकिस्तानविरुद्ध ६ विकेटको ऐतिहासिक जित निकाल्दै नेपालले सेमिफाइनलमा स्थान पक्का गरेको थियो । अब सुपर फोरमा नेपालले बिहीबार श्रीलंका र शुक्रबार बंगलादेशसँग प्रतिस्प्रधा गर्नेछ ।
