घरेलु टोली टिप टप हेल्प नेपाल स्पोर्ट्स क्लबले सेन्ट्रल एसियन (काभा) पुरुष अन्तर्राष्ट्रिय क्लब भलिबल च्याम्पियनसिप २०२४ मा लगातार तेश्रो जित हासिल गरेको छ ।
काठमाडौंको त्रिपुरेश्वतरस्थित राष्ट्रिय खेलकुद परिषद् (राखेप) को कभर्डहलमा बुधबार सम्पन्न दोश्रो खेलमा हेल्प नेपालले माल्दिभ्सको क्लब एचडीसीलाई ३-१ को सेटमा पराजित गरेको हो ।
पहिलो २५-२२ ले जितेको हेल्प नेपालले दोश्रो सेट २४-२६ ले गुमाएको थियो । त्यसपछिका दुई सेट क्रमशः २५-१९ र २५-२१ ले जित्दै हेल्प नेपालले खेलको नतिजा आफ्नो पक्षमा पार्यो ।
हेल्प नेपालले पहिलो खेलमा भारतको क्यालिकटलाई ३-२ र दोश्रो खेलमा गण्डकीलाई ३-१ को सेटमा हराएको थियो । अपराजित यात्रालाई निरन्तरता दिन सफल भएको हेल्प नेपालले ३ खेलबाट ८ अंक जोड्दै तालिकाको शीर्ष स्थानमा उक्लिएको छ ।
यता आज आफ्नो चौथो खेल खेलेको एचडीसीले तेश्रो हार व्यहोरेको छ । पहिलो खेलमा गण्डकीलाई ३-२ ले पराजित गरेको एचडीसी त्यसपछिका दुई खेलमा क्रमश: इरान-यु १८ र क्यालिकटसँग पराजित भएको थियो ।
एचडीसीको चार खेलमा २ अंक रहेको छ । यसअघि आज नै भएको पहिलो खेलमा इरानको यु-१८ टोलीले भारतीय च्याम्पियन क्यालिकट हिरोजलाई ३-० को सोझो सेटमा पराजित गर्दै प्रतियोगितामा लगातार तेश्रो जित हासिल गरेको थियो ।
