जेबी स्कुलको आयोजनामा प्रथम जेबी कप अन्तरविद्यालय बास्केटबल प्रतियोगिता बिहीबारदेखि हुने भएको छ ।
प्रतियोगिताअन्तर्गत दुवै विधामा २४ टिमको सहभागिता रहने बुधबार आयोजित पत्रकार सम्मेलनमा जेबी स्कुलका प्रिन्सिपल नारायण रोकाले जानकारी गराए । जुनियर ब्वाइज र सिनियर गल्र्समा समान १२–१२ टिम सहभागी हुने छन् । दुवै विधामा सहभागी टिमलाई ४ समूहमा विभाजन गरी लिग कम नकआउट आधारमा खेल खेलाइने छ ।
जेबी स्कुलका संस्थापक निर्देशक रोशन थापाले विद्यार्थीहरुमा रहेको अन्तरनिहित प्रतिभालाई प्रस्फुटन गर्ने उद्देश्यले प्रतियोगिता आयोजना गरिएको बताए ।
प्रतियोगिता सञ्चालन गर्न करिब १ लाख ५० हजार रुपैयाँ खर्च हुने जेबी स्कुलका प्रबन्ध निर्देशक रुपक वस्तीले जानकारी दिए । प्रतियोगिताका खेलहरु बूढानीलकण्ठ ६ को च्यासिन्डोलस्थित आयोजकको आफ्नै कोर्टमा खेलाइने छ । फाइनल पुस २ गतेसम्म हुनेछ ।
