भारतको क्यालिकट हिरोजको काभा क्लब च्याम्पियन्सिपमा पहिलो जित

 नेपालमा जारी सेन्ट्रल एसियन (काभा) पुरुष अन्तर्राष्ट्रिय क्लब भलिबल च्याम्पियनसिप २०२४ मा भारतको क्यालिकट हिरोज क्लबले पहिलो जित हासिल गरेको छ ।

त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद (राखेप) को कभर्डहलमा सोमबार सम्पन्न पहिलो खेलमा हिरोजले माल्दिभ्सको क्लब एचडीसीलाई ३-० को सेटमा पराजित गरेको हो ।

हिरोजले एचडीसीलाई क्रमशः २५-१३, २५-२३ र २५-२१ को सेटमा पराजित गर्यो । हिरोजले दोश्रो खेलमा आएर पहिलो जित हासिल गरेको हो ।

यसअघि शनिबार भएको पहिलो खेलमा हिरोज नेपालको टिप टप हेल्प नेपाल स्पोर्ट्स क्लबसँग ३-२ को सेटमा पराजित भएको थियो । यता क्लब एचडीसीले च्याम्पियनसिपमा दोश्रो हार व्यहोरेको छ ।

यसअघि पहिलो खेलमा नेपालको गण्डकी प्रदेश भलिबल संघलाई ३-२ ले हराएको एचडीसी दोश्रो खेलमा इरानको यु-१८ टोलीसँग ३-२ को सेटमा पराजित भएको थियो ।

दुवै खेल जितेको हेल्प नेपाल ५ अंकसहित शीर्ष स्थानमा रहँदा इरानी टोली र एचडीसीको समान २ अंक रहेको छ। नेपाल भलिबल संघ (एनभीए) को आयोजनामा जारी लिगमा नेपालका २ सहित ५ टोलीको सहभागीता रहेको छ ।

नेपालबाट गत संस्करणको एनभीए लिग विजेता हेल्प नेपाल स्पोर्ट्स क्लब र उपविजेता गण्डकी प्रदेशले यो प्रतियोगिता खेल्ने अवसर पाएका हुन् । यसैगरी अन्य ३ क्लबमा ईरानको यु-१८ टोली, भारतको कालिकट हिरोज र माल्दिभ्सको क्लब एचडीसी रहेका छन्।

काभा पुरुष क्लब भलिबल च्याम्पियनसिप पहिलो पटक आयोजना भएको हो । च्याम्पियनसिपको फाइनल खेल मंसिर २९ गते शनिबार हुनेछ ।

Share

जवाफ लेख्नुहोस्

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ