स्टार टेनिस खेलाडी नोभाक जोकोभिचले आफ्नो प्रशिक्षकमा बेलायतका चर्चित टेनिस खेलाडी एन्डी मर्रेलाई नियुक्त गरेका छन् । पछिल्लो ६ महिनादेखि विना प्रशिक्षक खेलिरहेका जोकोभिचले आफ्नो नयाँ प्रशिक्षकमा मर्रेलाई नियुक्त गरेका हुन् ।
लामो समयदेखि जोकोभिचको प्रशिक्षक रहेका गोरान इवानिसेविचले समयावधि सकिएपछि उनी विना प्रशिक्षक टेनिस खेलिरहेका थिए । जोकोभिचले नयाँ वर्ष २०२५ को शुभारम्भमा आयोजना हुने अष्ट्रलियन ओपनलाई मध्यनजर गर्दै मर्रेलाई प्रशिक्षकमा नियुक्त गरेको बताएका छन् ।
आफुले जुनियर टेनिस खेल्ने समयमा मर्रेसँग लामो समयसम्म टेनिस खेलेको र उनको प्रतिभाको बारेमा आफुलाई राम्रासँग ज्ञान भएकोले आफ्नो प्रशिक्षकमा मर्रेलाई नियुक्त गरेको जोकोविचले बताएका छन् ।
जोकोभिचले सर्वाधिक २४ पटक ग्रान्डस्ल्यामको उपाधि जितेर विश्व कीर्तिमान बनाएका छन् । त्यस्तै मर्रेले तीन पटक ग्रान्डस्ल्यामको उपाधि जित्नुको साथै दुई पटक ओलम्पिक स्वर्ण पदक समेत जित्न सफल भएका छन् । मर्रेले हालै फ्रान्समा सम्पन्न भएको ओलम्पिक खेलकुद प्रतियोगितापछि सक्रिय टेनिस खेल जीवनबाट सन्यासको घोषणा गरेका थिए ।
