लालीगुराँस नेसनल एकेडेमी र हिमरश्मिले तेश्रो मेयर रनिङ सिल्ड खेलकुद अन्तर्गत बास्केटबलको उपाधि आइतबार जितेका छन् । लालीगुराँस जुनियर छात्र तथा हिमरश्मि सिनियर छात्रामा च्याम्पियन बने ।
मनमैजु स्थित घरेलु कोर्टमा भएको जुनियर छात्र फाइनलमा लालीगुराँसले एन्जल्स हार्टलाई २३–१८ ले पराजित गर्यो । लालीगुराँसका सर्गम गुरुङले ९ अंक जोडे । हिमरश्मि र जीवन ज्योति तेश्रो भए ।
तार्केश्वर नगरपालिका, काठमाडौंद्वारा आयोजित प्रतियोगिताको सिनियर छात्राको उपाधि भिडन्तमा हिमरश्मिले ल्यान्डमार्क एकेडेमीलाई २५–१६ ले हरायो । हिमरश्मिकी निमा तामाङले ७ स्कोर गरिन् । लालीगुराँस र मानसिंह धर्मले तेश्रो स्थानमा चित्त बुझाए ।
विजेतालाई तार्केश्वर नगरापालिका वडा १० का अध्यक्ष कुमार राई, मेयर रनिङ सिल्ड खेलकुदका संयोजक राजेन्द्रप्रसाद तिमिल्सिना, नगर शिक्षा अधिकारी पदमबहादुर खत्री, लालीगुराँसका प्रिन्सिपल गोपाल बुढाथोकीलगायतले एक कार्यक्रमबीच पुरस्कृत गर्नु भयो ।
पाँचदिने नकआउट प्रतियोगिताको जुनियर छात्रमा १८ तथा सिनियर छात्रामा १४ टिमले प्रतिस्पर्धा गरेको लालीगुराँसका बास्केटबल प्रशिक्षक नारायण खवासले जनाएका छन् ।
