जनकपुरको लगातार तेस्रो जित, पोखरा सात विकेटले पराजित 

नेपाल प्रिमियर लिग (एनपीएल)मा लगातार तेस्रो जित निकाल्ने क्रममा जनकपुर बोल्ट्सले पोखरा एभेन्जर्सविरुद्ध सात विकेटको विजय हासिल गरेको छ ।

बिहीबार कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा पोखराले प्रस्तुत गरेको १३९ रनको लक्ष्य जनकपुरले १७.१ ओभरमा तीन विकेट गुमाएर पूरा ग¥यो । जनकपुरले यसअघि विराटनगर किंग्स र कर्णाली याक्सविरुद्ध समान आठ विकेटको जित निकालेको थियो ।

जनकपुरको जितमा लहिरु मिलान्थाले ४५ रन बनाए । उनले ३२ बलमा आठ चौका प्रहार गरे । लहिरुलाई १०औँ ओभरको पाँचौँ बलमा माइकल लियस्कले सागर ढकालबाट क्याच गराएका थिए । ओपनर आसिफ सेखले ३४ बलमा तीन चौकासहित ३३ रन बनाए । आसिफलाई १३औँ ओभरको तेस्रो बलमा कुशल भुर्तेलले विपीन खत्रीबाट क्याच गराएका थिए ।

१०–१ को स्थितिबाट लहिरु र आसिफले तेस्रो विकेटका निम्ति ७२ रनको साझेदारी गर्दै जनकपुरलाई जित नजिक पुर्याएका थिए । 

आक्रामक रुपमा प्रस्तुत भएका जिम्मी निसमले २० बलमा अविजित ४० रन बनाए । उनले पाँच छक्का प्रहार गरे । निसमसँगै अविजित रहेका हर्ष थाकेरले १४ बलमा १३ रन बनाए ।

आजको खेलमा ओपनर तथा कप्तान अनिल साह भने एक रनमै आउट भए । यसअघि कर्णालीविरुद्ध अर्धशतक बनाएका अनिललाई दोस्रो ओभरको दोस्रो बलमा विपीन खत्रीले एलबीडब्लूको धरापमा पारेका थिए ।

जनकपुरविरुद्ध फितलो बनेको पोखराबाट बलिङमा विपीन खत्री, माइकल लियस्क र कुशल भुर्तेलले समान एक विकेट लिए ।

त्यसअघि टस हारेर ब्याटिङमा आएको पोखराले निर्धारित २० ओभरमा सात विकेट गुमाएर १३८ रनको योगफल खडा गरेको थियो ।

पोखराका मार्कस क्रिटचेलीले सर्वाधिक ३५ रन बनाए । ललित राजवंशीले गरेको १६.३ ओभरमा अनिल साहबाट क्याच हुनुअघि उनले ३० बलमा तीन चौका र एक छक्का प्रहार गरे ।

माइकल लियस्कले २५ रन बनाए । २०औँ ओभरको चौथो बलमा आउट भएका लियस्कले १३ बलमा तीन छक्का प्रहार गरे । उनलाई किशोर महतोले आसिफ सेखबाट क्याच गराए । 

आन्द्रियस गौसले १६ बलमा तीन चौका र एक छक्कासहित २० रन थपे । गौसलाई ललित राजवंशीले आसिफ सेखबाट क्याच गराए । रेमन रेफरले २० बलमा एक चौकासहित १७ रन थपे । रेफरलाई जिम्मी निसमले १८.३ ओभरमा अनिल साहबाट क्याच गराए ।

ओपनर दीनेश खरेल र दीलिप नाथले क्रमशः १० र ११ रन थपे ।

जनकपुरका ललित राजवंशीले तीन विकेट लिए । चार ओभर बलिङ गरेका उनले ३१ रन थपे । जिम्मी निसमले दुई विकेट लिए । किशोर महतो र मोहमद मोहसिनले समान एक विकेट लिए ।

एनपीएलमा जनकपुरको यो तेस्रो खेल हो । यसअघि जनकपुरले पहिलो खेलमा विराटनगर किंग्स र दोस्रो खेलमा कर्णाली याक्सविरुद्ध समान आठ विकेटको जित निकालेको थियो । 

प्रतियोगितामा पोखराको भने यो दोस्रो हार हो । पोखराले यसअघि चितवन राइनोजसँग ८७ रनको हार व्यहोरेको थियो ।

Share

जवाफ लेख्नुहोस्

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ