साफ यु – २० मा भुटानको पहिलो जीत

काठमाडौंमा‌ जारी साफ यु २० मा माल्दिभ्सलाई हराउँदै भुटानले च्याम्पियनसिपको सेमिफाइनल पुग्ने सम्भावनालाई जीवित राखेको छ।

एक समय १० खेलाडीमा सीमित भएको भुटानले माल्दिभ्सलाई बुधवार सम्पन्न भएको समूह बी को खेलमा २-१ ले पराजित गरेको हो ।

सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा भारी वर्षाका बीच खेलको २१ मिनेटमा दोर्जीको गोलबाट भुटानले अग्रता लिएको थियो।

खेलको ५३ औं मिनेटमा भुटान १० खेलाडीमा सीमित बनेको थियो। गोलकिपर तेन्जिङले डिबक्स बाहिर बल छोएपछि उनलाई रेफ्रीले रातो कार्ड देखाउँदा भुटान १० खेलाडीमा सिमित भएको थियो।

त्यसमा प्राप्त फ्रिकिकमा गोल गर्दै माल्दिभ्सले खेल बराबरीमा ल्याए। माल्दिभ्सका फिराकले डिबक्स बाहिरबाट हानेको प्रहारले गोलमा‌ परिणत भएको थियो।
खेल‌ सकिन एक मिनेट बाँकी रहँदा सांगे छोपेलले गोल गर्दै भुटानलाई जित दिलाएका थिए ।

समूहको पहिलो खेलमा भारतले भुटामलाई हराएको थियो। भारत र भुटानको समान ३ अंक भएको छ भने माल्दिभ्स अंक विहिन छ। समूहको अन्तिम खेल भारत र माल्दिभ्सबीच हुनेछ।

प्रतियोगितामा बिहीबार घरेलु टोली नेपाल र बंगलादेशबीच प्रतिस्पर्धा गर्दैछन्। दुवै टोली पहिलो खेलमा श्रीलंकालाई पराजित गर्दै सेमिफाइनल पुगिसकेका छन् । भोलिको खेलबाट समूह विजेता र उपविजेताको टुंगो लाग्नेछ।

Share

जवाफ लेख्नुहोस्

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ