पेरिस ओलम्पिकमा नेपालका पौडी खेलाडी एलेक्जेन्डर शाहले १ सय मिटर फ्री स्टाइलमा राष्ट्रिय रेकर्ड कायम गरेका छन् । राष्ट्रिय रेकर्ड कायम गरेपनि उनी ५९औं स्थानमा रहँदै पहिलो चरणबाट नै बाहिरिएका छन् ।
हिट्स तीनमा रहेका उनले ५१ दशमलव ९१ सेकेन्डमा निर्धारित दुरी तय गर्दै आफ्नो नाममा रहेको रेकर्ड सुधार गरेका हुन् । यसअघि एक सय मिटर फ्री स्टाइलमा एलेक्जेन्डरको नाममा ५२ दशमलव १७ सेकेन्डको कीर्तिमान रहेको थियो । उनले सन २०२४ को फेब्रुअरीमा दोहाको वल्ड एक्वेटिक्स च्याम्पियनशीपमा सो रेकर्ड बनाएका थिए । यो टइमिङमा उनी हिट्समा तेस्रो भए ।
कुल दश वटा हिट्सको प्रतिस्पर्धा पश्चात १६ उत्कृष्ट खेलाडी अघिल्लो चरणमा पुगेका छन् । ७९ खेलाडी सहभागी प्रतिस्पर्धामा एलेक्सले २० खेलाडीलाई पछि पारे । जारी ओलम्पिक्समा भने नेपालले बनाएको यो पहिलो राष्ट्रिय रेकर्ड हो । लगातार दोस्रो पटक ओलम्पिक्स खेलेका एलेक्जेन्डरले टोकियो ओलम्पिक्समा पनि सय मिटर फ्री स्टाइलमा प्रतिस्पर्धा गरेका थिए । जहाँ उनले ५३ दशमलव ४१ सेकेन्डमा दुरी तय गर्दै ५९औं स्थान प्राप्त गरे ।
