स्टार फरवार्ड लियोनेल मेस्सीले अर्जेन्टिनाको सिनियर टोलीबाट सोमबार बिहान सातौं फाइनलको रुपमा कोपा अमेरिका २०२४ मा कोलम्वियासँग प्रतिस्पर्धा गर्दैछन् ।

अर्जेन्टिना र कोलम्वियाबीको खेल अमेरिकाको हार्ड रक स्टेडियम मियामी फ्लोरिडामा नेपाली समयअनुसार सोमबार बिहान ५:४५ बजेपछि हुनेछ । सुरुवाती चार फाइनल गुमाएका मेस्सी यसपटक पनि च्याम्पियन बन्दै राष्ट्रिय टोलीबाट ह्याट्रिक उपाधि जित्ने लक्ष्यमा हुनेछन् ।
क्लब फुटबलमा दर्जनौं उपाधि चुमिसकेको मेस्सीले सिनियर राष्ट्रिय टोलीबाट पहिलोपटक सन् २०२१ को कोपा अमेरिकाको उपाधि जितेका थिए । त्यसको एक वर्षपछि मेस्सीकै कप्तानीमा अर्जेन्टिनाले एसियाली राष्ट्र कतारमा भएको फिफा विश्वकपको उपाधि जित्न सफल भयो । जुन मेस्सीको पहिलो कोपा अमेरिका र फिफा विश्वकप उपाधि थियो ।
मेस्सीले अर्जेन्टिनाको उमेर समूहबाट फिफा युथ विश्वकप (यु–२०) र यु–२३ मा ओलम्पिक गेम्समा स्वर्ण जितेका थिए । सन् २०२२ मै दक्षिण अमेरिकी फुटबल फेडेरेसन (कन्मेवल) र युरोपियन फुटबल फेडेरेसन (युइएफ) को संयुक्त आयोजनामा भएको फाइनालिसिमाको उपाधि जिते । सुरुवाती फाइनलमा लगातार चुकिरहेको कीर्तिमानी ८ पल्टको बालोन डि ओर विजेता ३७ वर्षीय मेस्सीले पछिल्लो फाइनलमा भने निराशा भोग्नुपरेको छैन ।
२०२२ मा भएको विश्वकप छनोटमा अर्जेन्टिनासँग १–० ले पराजित भएयता कोलम्विया पछिल्लो २७ खेलमा अपराजित छ । जसमा २१ जित र ६ बराबरीको नतिजा छ ।
