नेपाली राष्ट्रिय महिला टोली श्रीलंका क्रिकेट बोर्डको महिला विकास टोलीसँगको पहिलो अभ्यास खेलमा पराजित भएको छ ।
जितका लागि श्रीलंका महिला विकास टोलीले दिएको ११९ रनको लक्ष्य पछ्याएको नेपाल १५ ओभरमा ९ विकेट गुमाउँदै ६३ रनमा समेटियो । नेपालका लागि रुविना क्षेत्रीले सर्वाधिक १७ र सीता रानामगरले ११ रन जोडिन्।
नेपाली टोली एशिया कपको तयारीका लागि केही साताअघि नै श्रीलंका पुगेको हो । एशिया कप जुलाई १९ देखि २८ (साउन ४ देखि १३ गते) सम्म श्रीलंकामा हुँदैछ । नेपालले एशिया कपको तयारी स्वरुप श्रीलंका क्रिकेट बोर्डको महिला विकास टोलीसँग तीन खेलको अभ्यास श्रृंखला खेल्ने तालिका छ ।
नेपालले महिला विकास टोलीसँगको दोश्रो अभ्यास खेल १० र तेश्रो अभ्यास खेल १६ जुलाईमा खेल्ने छ । त्यसपछि नेपालले एशिया कप खेल्ने छ। नेपाल एशिया कपको समूह ‘ए’ मा परेको छ । यस समूहमा नेपालसँगै भारत, पाकिस्तान र युएई छन् । यस्तै समूह ‘बी’ मा आयोजक श्रीलंका, बंगलादेश, मलेसिया र थाइल्याण्ड रहेका छन् ।
नेपालले १९ जुलाईमा युएईसँग खेल्दै एशिया कपको शुरुवात गर्नेछ । नेपालले दोश्रो खेल २१ जुलाईमा पाकिस्तान र २३ जुलाईमा भारतविरुद्ध खेल्ने छ ।
