उरुग्वे र पानामा विजयी

कोपा अमेरिका २०२४ अन्तर्गत शुक्रबार बिहान सम्पन्न समूह सि अन्तर्गतका खेलमा उरुग्वे र पानामा विजयी भएका छन् । उरुग्वेले बोलिभिया र पानामाले अमेरिका माथि जित हात पारेका हुन् ।

न्यू जर्सीमा भएको खेलमा उरुग्वेले बोलिभियालाई ५-० को फराकिलो अन्तरले पराजित गरेको हो । यसपटक मार्सेलो बिएल्साको प्रशिक्षणमा रहेको उरुग्वे दावेदारको रुपमा उभिएको छ ।

लगातार दोस्रो जित दर्ता गर्ने क्रममा उरुग्वेका लागि फाकुन्डो पेलिष्ट्री, डार्विन नुनेज, म्याक्सीमिलियानो आराउजो, फेडेरीको भालभर्डे र रोड्रिगो बेन्टान्कुरले समान १-१ गोल गरे ।

उरुग्वेले पहिलो खेलमा पानामालाई ३-१ ले हराएको थियो ।उता पानामाले भने घरेलु टोली अमेरिका माथि २-१ को जित निकाल्यो । एटलान्टामा भएको खेलमा दुवै टोली १० जनामा सिमित भएका थिए । १८औं मिनेटमा जर्ज वियाह रातो कार्ड खाँदै मैदान बाहिरिएपछि अमेरिकाले खेलको अधिकांश समय १० जनाले खेल्नु परेको थियो ।

तर त्यसका बाबजुद २२औं मिनेटमा फोलारिन बालोगुनले गोल गर्दै अमेरिकालाई अग्रता दिलाएका थिए । २६औं मिनेटमा नै सेजार ब्ल्याकम्यानले पानामाका लागि बराबरी गोल गरे । ८३औं मिनेटमा जोसे फाजार्दोले पानामाका लागि विजयी गोल गरे ।

त्यसपश्चात ८८औं मिनेट आदालबेर्टो कार्रासकियाले रातो कार्ड पाएपछि पानामा पनि खेलको अन्तिम केही समयमा १० जनाले खेलेको थियो । तर पानामाले जित भने हासिल गर्यो ।

जित पछि समूहमा उरुग्वेको २ खेलमा ६ अंक रहेको छ भने पानामा र अमेरिकाको समान २ खेलमा ३-३ अंक छ । बोलिभिया भने अंकविहिन रहेको छ ।

Share

जवाफ लेख्नुहोस्

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ