काठमाडौं म्याराथनको १८औँ संस्करण : सात हजारभन्दा बढी धावक सहभागी हुँदै

काठमाडौं,असोज २२ गते।
सन् २००७ देखि निरन्तर आयोजना हुँदै आएको काठमाडौं म्याराथनको १८औँ संस्करण आगामी असोज २४ गते आयोजना हुँदैछ ।

म्याराथनलाई लक्षित गर्दै सातदोबाटोस्थित वीरेन्द्र कम्प्लेक्समा अहिले सहभागी धावकहरूलाई बिब नम्बर र टिसर्ट वितरण भइरहेको छ । बिब तथा टिसर्ट वितरण शुक्रबारसम्म जारी रहने आयोजकले जनाएको छ ।

एनआरएस स्पोर्ट्स फाउन्डेसनको आयोजनामा हुन लागेको सिद्धार्थ बैंक काठमाडौं म्याराथन–२०२६ मा हालसम्म सात हजारभन्दा बढी धावकले दर्ता गरिसकेका छन् । आयोजकका अनुसार यस वर्ष एक सयभन्दा बढी विदेशी धावकको समेत सहभागिता रहनेछ ।

फाउन्डेसनका अध्यक्ष निलेन्द्रराज श्रेष्ठका अनुसार यस वर्षको म्याराथनमा करिब पाँच सय विदेशी धावक तथा धाविकाको सहभागिता रहनेछ । जसमा २७ जना महिला धाविका रहेका छन् ।

काठमाडौं म्याराथनको यस संस्करणमा १९ देशका अन्तर्राष्ट्रिय धावक–धाविकाले सहभागिता जनाउँदैछन् । अमेरिका, अष्ट्रेलिया, बंगलादेश, चीन, डेनमार्क, फ्रान्स, भारत, जापान, कोरिया, म्यानमार, नेदरल्यान्ड्स, नर्वे, पोल्याण्ड, स्लोभाकिया, श्रीलंका, स्विट्जरल्यान्ड, ताइवान र बेलायतबाट धावकहरू सहभागी हुँदैछन् ।

फाउन्डेसनका अध्यक्ष श्रेष्ठले काठमाडौं म्याराथनलाई केवल दौड प्रतियोगिताका रूपमा मात्र नभई स्वस्थ जीवनशैली, अनुशासन, सामाजिक एकता, सडक सुरक्षा र खेल संस्कृतिको प्रवद्र्धन गर्ने अभियानका रूपमा अघि बढाइएको बताउनुभएको छ ।

यस वर्ष काठमाडौं म्याराथनले ‘फलो ट्राफिक रुल्स, सेभ लाइभ्स’ भन्ने सन्देशलाई विशेष रूपमा प्रवद्र्धन गरिरहेको छ । काठमाडौं उपत्यका ट्राफिक प्रहरीसँगको सहकार्यमा सडक सुरक्षा र दुर्घटना न्यूनीकरणसम्बन्धी जनचेतना फैलाउने उद्देश्यले अभियान सञ्चालन गरिएको हो ।

दौडसँगै सुरक्षित सडक र जिम्मेवार नागरिकको सन्देश समुदायसम्म पुर्‍याउने उद्देश्यले ‘दुर्घटनाबाट जोगिऔँ’ भन्ने सन्देशलाई पनि म्याराथनसँग जोडिएको आयोजकले जनाएको छ ।

काठमाडौं म्याराथनसँग सिद्धार्थ बैंक गत वर्षदेखि टाइटल स्पोन्सरका रूपमा जोडिएको छ । यस्तै, म्याराथनमा सहभागी धावक, स्वयंसेवक, कार्यक्रमसँग प्रत्यक्ष रूपमा जोडिएका व्यक्ति तथा सम्बन्धित पक्षको बीमा समेत गरिएको छ । यस वर्ष हिमालयन एभरेस्ट इन्स्योरेन्स म्याराथनको इन्स्योरेन्स पार्टनरका रूपमा रहेको छ ।

४२ दशमलव १९५ किलोमिटरको पूर्ण म्याराथन रुटमा धावकको सहजताका लागि १८ वटा हाइड्रेसन स्टेसनको व्यवस्था गरिएको छ । विभिन्न रनिङ क्लब तथा संघ–संस्थाले ती स्टेसन सञ्चालन गर्नेछन् ।

धावकहरूको स्वास्थ्य सुरक्षालाई प्राथमिकतामा राख्दै मेडिकल डाइरेक्टर डा. सन्देश मास्केको नेतृत्वमा मेडिकल व्यवस्थापन गरिएको छ । त्यसका लागि ब्लुक्रस हस्पिटल, नेपाल कोरिया हस्पिटल, भक्तपुर अन्तर्राष्ट्रिय अस्पताल र एपीएफ अस्पतालसँग समन्वय गरिएको आयोजकले जनाएको छ ।

म्याराथन सफल बनाउन काठमाडौं महानगरपालिकासहित सूर्यविनायक नगरपालिका, ललितपुर महानगरपालिका, भक्तपुर नगरपालिका र मध्यपुर थिमी नगरपालिकासँग समेत आवश्यक समन्वय गरिएको छ ।

Share

जवाफ लेख्नुहोस्

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ