आजदेखि सुरु भयो दुई दिने ‘फिटनेस एण्ड हेल्थ वर्कसप’


काठमाडौं,असोज २० गते ।
ललितपुर, शारीरिक तन्दुरुस्ती, स्वास्थ्य तथा स्वस्थ जीवनशैलीसम्बन्धी ज्ञान अभिवृद्धि गर्ने उद्देश्यले आयोजना गरिएको दुई दिने ‘फिटनेस एण्ड हेल्थ वर्कसप’ आजदेखि ललितपुरमा सुरु भएको छ।

ललितपुर महानगरपालिका वडा नम्बर ६ कानीबहालस्थित वडा कार्यालयको हलमा असोज २० र २१ गते सञ्चालन हुने कार्यशालाको उद्घाटन प्रमुख अतिथि ओलम्पियन जसदिश प्रधान र सभापति ललितपुर महानगरपालिका वडा नम्बर ६ का वडा अध्यक्ष रुपेन्द्र राज शाक्य लगायतले पानसमा दीप प्रज्वलन गरी संयुक्त रूपमा गर्नुभएको हो।

उद्घाटन कार्यक्रममा प्रमुख अतिथि ओलम्पियन जसदिश प्रधानले पछिल्लो समय स्वास्थ्य र शारीरिक तन्दुरुस्तीप्रति मानिसको चासो बढ्दै गए पनि व्यस्त जीवनशैलीका कारण नियमित व्यायाम तथा स्वास्थ्यमा पर्याप्त ध्यान दिन नसकिएको बताउनुभयो। उहाँले स्वस्थ जीवनशैलीका लागि नियमित व्यायाम, सन्तुलित खानपान र सकारात्मक सोच आवश्यक रहेको उल्लेख गर्दै यस्ता कार्यशालाले स्वास्थ्यप्रति सचेतना बढाउन महत्वपूर्ण भूमिका खेल्ने धारणा व्यक्त गर्नुभयो।

उहाँले फिटनेसलाई केवल शरीरको बनावटसँग मात्र जोडेर हेर्न नहुने बताउँदै शारीरिक रूपमा स्वस्थ हुनुका साथै मानसिक रूपमा पनि सबल हुन आवश्यक रहेकोमा जोड दिनुभयो। युवाहरूलाई सुरुदेखि नै नियमित व्यायाम र अनुशासित जीवनशैली अपनाउन प्रेरित गर्नुपर्ने उहाँको भनाइ थियो।

कार्यक्रमका सभापति तथा ललितपुर महानगरपालिका वडा नम्बर ६ का वडा अध्यक्षले स्वस्थ नागरिक निर्माणका लागि स्थानीय तहबाट समेत स्वास्थ्य तथा फिटनेससम्बन्धी कार्यक्रमलाई प्रोत्साहन गर्नुपर्ने बताउनुभयो। उहाँले समुदायमा स्वस्थ जीवनशैलीको संस्कार विकास गर्न यस्ता कार्यक्रम उपयोगी हुने उल्लेख गर्दै वडा तहबाट हुने स्वास्थ्य, खेलकुद तथा शारीरिक तन्दुरुस्तीसम्बन्धी गतिविधिमा आवश्यक सहयोग र सहकार्य गर्न आफूहरू सकारात्मक रहेको बताउनुभयो।

वडा अध्यक्षले अहिलेको समयमा शारीरिक निष्क्रियता, अस्वस्थ खानपान र बढ्दो तनावका कारण विभिन्न स्वास्थ्य समस्या देखिन थालेको उल्लेख गर्दै नियमित व्यायाम र स्वस्थ जीवनशैलीलाई दैनिक जीवनको अभिन्न हिस्सा बनाउनुपर्नेमा जोड दिनुभयो।

दुई दिनसम्म सञ्चालन हुने कार्यशालामा फिटनेस, स्वास्थ्य, व्यायाम तथा मानसिक तयारीसँग सम्बन्धित विभिन्न विषयमा व्यवहारिक तथा विशेषज्ञ प्रशिक्षण प्रदान गरिने आयोजकले जनाएको छ। कार्यशालामा ‘मास्टर माइन्डसेट एण्ड टेक्निक’, लक्ष्यअनुसार फिटनेस अभ्यास, स्वस्थ जीवनशैली तथा व्यक्तिगत फिटनेस सुधारलगायतका विषयमा प्रशिक्षण दिइनेछ।

कार्यशालामा अनुभवी फिटनेस गुरु राजीव खड्गीलगायतका प्रशिक्षकले सहभागीहरूलाई आवश्यक प्रशिक्षण, मार्गदर्शन तथा व्यवहारिक अभ्यास गराउनेछन्। सहभागीहरूको व्यक्तिगत आवश्यकता र फिटनेस लक्ष्यलाई ध्यानमा राख्दै प्रशिक्षणलाई अन्तरक्रियात्मक बनाइएको आयोजकको भनाइ छ।

कार्यशालामा केवल सैद्धान्तिक ज्ञानमा मात्र सीमित नरही सहभागीहरूलाई प्रत्यक्ष अभ्यासमार्फत फिटनेसका विभिन्न प्रविधि र विधिबारे जानकारी गराइनेछ। सहभागीहरूले आफ्नो शारीरिक क्षमता, स्वास्थ्य अवस्था तथा व्यक्तिगत लक्ष्यअनुसार आवश्यक अभ्यास र जीवनशैली सुधारका उपाय सिक्ने अवसर पाउनेछन्।

कार्यशालामा जम्मा १५ जनालाई मात्र सहभागी गराइएको छ। सीमित सहभागिताका कारण प्रत्येक सहभागीलाई प्रशिक्षकसँग प्रत्यक्ष अन्तरक्रिया गर्दै आफ्ना समस्या, जिज्ञासा तथा फिटनेस लक्ष्यबारे आवश्यक परामर्श लिने अवसरसमेत उपलब्ध हुने जनाइएको छ।

कार्यक्रममा उत्तम त्रिपाठी, फोटोग्राफर श्याम चित्रकार, ललितपुर महानगरपालिकाका कार्यपालिका सदस्य उमा श्रेष्ठ बज्राचार्य, सुमन महर्जन, वडा सचिव जगतबहादुर कटवाललगायतको उपस्थिति रहेको थियो।

आयोजकका अनुसार कार्यशालाले सहभागीहरूलाई आफ्नो स्वास्थ्यप्रति थप जिम्मेवार बनाउँदै नियमित व्यायाम, सन्तुलित खानपान, सकारात्मक सोच र अनुशासित जीवनशैली अपनाउन प्रेरित गर्नेछ। ‘स्वस्थ शरीर, स्वस्थ मन र अनुशासित जीवनशैली’ निर्माण गर्ने उद्देश्यले आयोजना गरिएको कार्यशालाले दीर्घकालीन रूपमा स्वस्थ तथा सक्रिय समाज निर्माणमा योगदान पुर्‍याउने अपेक्षा गरिएको छ।

Share

जवाफ लेख्नुहोस्

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ