
नेपाल जापानमा जारी एसियाली खेलकुदमा जुडोको मिक्स्ड टिम स्पर्धामा पहिलो चरण (अन्तिम–१६)मै सीमित भएको छ । शनिबार आइची इन्टरनेसनल एरिनामा नेपाल चाइनिज ताइपेईसँग ४–० ले पराजित भयो ।
नेपालका देवकीमाया श्रेष्ठ, सुजन गुरुङ, निशा श्रेष्ठ र विकास विक आ–आफ्नो बाउटमा पराजित भए । देवकीमायालाई चाङ लिङ फाङले एक मिनेट १५ सेकेन्ड, सुजनलाई दाइ यु–मिङले १९ सेकेन्ड, निशालाई लिउ त्जु–युनले ५४ सेकेन्ड र विकासलाई लिन चोङ–युले एक मिनेट ४८ सेकेन्डमा इप्पोनका आधारमा हराए ।

चार बाउटमा पछि परेपछि पूनम श्रेष्ठ र विशेष विकले प्रतिस्पर्धा गर्ने अवसर नै पाएनन् ।
यससँगै जुडोमा नेपालको चुनौती समाप्त भएको छ । यी ६ खेलाडी यसअघि आ–आफ्नो व्यक्तिगत स्पर्धामा पनि पहिलो चरणबाटै बाहिरिएका थिए ।
