
काठमाडौं, असोज १७ गते ।
नेपालमा पहिलोपटक आयोजना गरिएको ‘ग्लोबल ट्रेडिसनल क्यारुगी तथा पुम्से तेक्वान्दो च्याम्पियनसिप–२०२६’ सम्पन्न भएको छ। ग्लोबल ट्रेडिसनल दिवसको अवसरमा ग्लोबल ट्रेडिसनल तेक्वान्दो फेडेरेसन (GTTF) नेपालले आयोजना गरेको प्रतियोगिता शनिबार काठमाडौंको पेप्सीकोला, कोटेश्वरस्थित कोटेश्वर तेक्वान्दो डोजाङमा सम्पन्न भएको हो।
असोज १७ र १८ गते अर्थात् अक्टोबर ३ र ४ गतेसम्म सञ्चालन गर्ने तयारी गरिएको प्रतियोगिता सहभागी खेलाडी तथा आयोजकको सहमतिमा एकै दिन सम्पन्न गरिएको हो। प्रतियोगितामा क्योरुगी तथा पुम्से विधामा विभिन्न उमेर समूहका खेलाडीले प्रतिस्पर्धा गरेका थिए।

प्रतियोगितामा विभिन्न विद्यालय तथा तेक्वान्दो डोजाङबाट करिब ३०० खेलाडीको सहभागिता रहेको आयोजकले जनाएको छ। बालबालिकादेखि युवा खेलाडीसमेत सहभागी प्रतियोगितामा खेलाडीले आफ्नो खेल कौशल प्रदर्शन गर्नुका साथै प्रतिस्पर्धात्मक अनुभव हासिल गर्ने अवसर पाएका थिए।
प्रतियोगितामा कोटेश्वर तेक्वान्दो डोजाङ १५ स्वर्ण, १० रजत र ३ कांस्य गरी कुल २८ पदकसहित टिम च्याम्पियन बन्दै पहिलो स्थान हासिल गर्न सफल भयो। त्यस्तै सल्लाघारी तेक्वान्दो डोजाङ १३ स्वर्ण, ३ रजत र १० कांस्य गरी कुल २६ पदकसहित दोस्रो स्थानमा रह्यो।

यसैगरी लालिगुराँस बालबाटिका विद्यालय ७ स्वर्ण, २ रजत र ३ कांस्य गरी कुल १२ पदकसहित तेस्रो स्थानमा रहन सफल भयो।
प्रतियोगिताको मुख्य उद्देश्य परम्परागत तेक्वान्दोको प्रवर्द्धन गर्नुका साथै नयाँ पुस्ताका खेलाडीलाई प्रतिस्पर्धात्मक वातावरण प्रदान गर्दै राष्ट्रिय तथा अन्तर्राष्ट्रियस्तरका प्रतियोगिताका लागि तयार गर्नु रहेको आयोजकले जनाएको छ। प्रतियोगिताले खेलाडीमा अनुशासन, आत्मविश्वास, खेल कौशल र प्रतिस्पर्धात्मक क्षमता विकास गर्न सहयोग पुग्ने आयोजकको विश्वास छ।
प्रतियोगिताको उद्घाटन वरिष्ठ खेलकुद पत्रकार श्याम चित्रकारको प्रमुख आतिथ्यमा भएको थियो। उद्घाटनका क्रममा प्रमुख अतिथि चित्रकारले प्रतियोगिताका निर्णायक तथा रेफ्रीलाई खेलकुद सामग्री हस्तान्तरण गरेका थिए। कार्यक्रममा आयोजक, प्रशिक्षक, निर्णायक, खेलाडी तथा अभिभावकको उपस्थिति रहेको थियो।
GTTF नेपालका अध्यक्ष नबीन कुमार श्रेष्ठले नेपालमा पहिलोपटक आयोजना गरिएको यस प्रतियोगिताले खेलाडीलाई परम्परागत तेक्वान्दोको विधा तथा यसको प्रतिस्पर्धात्मक पक्षबारे अनुभव हासिल गर्ने अवसर प्रदान गरेको बताए।

उनले प्रतियोगिता केवल पदक जित्ने उद्देश्यमा सीमित नभई खेलाडीको क्षमता विकास, अनुशासन र आत्मविश्वास अभिवृद्धि गर्दै अन्तर्राष्ट्रियस्तरमा प्रतिस्पर्धा गर्न सक्ने वातावरण निर्माण गर्ने उद्देश्यले आयोजना गरिएको बताए। विभिन्न विद्यालय तथा डोजाङबाट ठूलो संख्यामा खेलाडीको सहभागिता हुनु नेपाली तेक्वान्दोका लागि सकारात्मक पक्ष भएको उल्लेख गर्दै श्रेष्ठले यसले नयाँ पुस्तामा तेक्वान्दोप्रतिको आकर्षण र रुचि बढाउन सहयोग पुग्ने विश्वास व्यक्त गरे।
प्रतियोगिताबाट प्राप्त अनुभवले खेलाडीलाई आगामी राष्ट्रिय तथा अन्तर्राष्ट्रिय प्रतियोगितामा अझ राम्रो प्रदर्शन गर्न सहयोग पुग्ने अध्यक्ष श्रेष्ठले बताए। नेपालमा परम्परागत तेक्वान्दोको विकास र विस्तारका लागि नियमित रूपमा यस्ता प्रतियोगिता आयोजना गर्न आवश्यक रहेको उल्लेख गर्दै उनले खेलाडी, प्रशिक्षक, निर्णायक, अभिभावक तथा सहयोगी सबै पक्षको सहकार्यबाट नेपाली तेक्वान्दोलाई थप उचाइमा पुर्याउन सकिने बताए।
‘ग्लोबल ट्रेडिसनल तेक्वान्दो’को माध्यमबाट नेपाली खेलाडीलाई अन्तर्राष्ट्रिय स्तरसम्म पुर्याउने लक्ष्य रहेको बताउँदै श्रेष्ठले आगामी दिनमा प्रतियोगितालाई अझ व्यवस्थित, व्यापक र प्रभावकारी बनाउँदै लैजाने योजना रहेको जानकारी दिए।
प्रतियोगिता सम्पन्न भएपछि विभिन्न विधा तथा उमेर समूहमा उत्कृष्ट प्रदर्शन गर्दै विजेता बनेका खेलाडी तथा टिमलाई प्रमुख अतिथि, GTTF नेपालका अध्यक्षलगायत आयोजक पदाधिकारीले पदक तथा प्रमाणपत्रसहित पुरस्कृत गरेका थिए। विजेता खेलाडीलाई पदक तथा प्रमाणपत्र प्रदान गर्दै उनीहरूको उत्कृष्ट प्रदर्शनको सम्मान गरिएको थियो। साथै उत्कृष्ट टिमलाई समेत प्राप्त उपलब्धिका आधारमा सम्मान गरिएको आयोजकले जनाएको छ।
पहिलोपटक आयोजना गरिएको प्रतियोगितामा खेलाडी, प्रशिक्षक, निर्णायक तथा अभिभावकको उत्साहजनक सहभागिता रहेको थियो। आयोजकले आगामी संस्करणमा प्रतियोगितालाई थप व्यवस्थित गर्दै सहभागिता र प्रतिस्पर्धाको दायरा विस्तार गर्ने जनाएको छ।
