
काठमाडौं असोज ८ गते ।
जापानमा हुने २० औं एसियाली खेलकुदमा सहभागी हुने जुडो टोलीलाई नेपाल जुडो संघले सफलताका लागि शुभकामना दिदै बिहीबार बिदाइ गरेको छ ।
जापानको आइची÷नागोयामा असोज ३ गतेदेखि सुरु भएको एसियाडमा जुडोबाट समान ३–३ पुरुष÷महिला खेलाडीले नेपालको चुनौती पेश गर्ने छन् । जुडो भने असोज १४ गतेदेखि सुरु हुनेछ । टोली असोज १० गते जापान जाने छ ।
पुरुष ६० केजीमुनि विकास विक, ६६ केजीमुनि विशेष विक र ९० केजीमुनि सुजन गुरुङले प्रतिस्पर्धा गर्ने छन् । महिला ५२ केजीमुनि देवकीमाया श्रेष्ठ, ४८ केजीमुनि निशा श्रेष्ठ र ७० केजीमुनि पुनम श्रेष्ठ सहभागी हुने छन् । टिम व्यवस्थापकमा रमेश महर्जन र प्रशिक्षकमा सुनिता मगर ताम्राकार छन् ।
प्रतियोगता सञ्चालन गर्न नेपाल जुडो संघका अध्यक्ष दीपकहर्ष वज्राचार्य पनि त्यसै दिन जापान जाँदै छन् ।