दक्षिण अफ्रिका विरुद्धको खेलमा नेपाल १ रनले पराजीत भएसँगै आइसिसी टि-२० विश्वकपबाट बाहिरिएको छ।

दक्षिण अफ्रिकाले दिएको ११६ रनको मध्यम लक्ष्य पछ्याएको नेपालले ७ विकेट गुमाउंदै ११४ रन मात्र बनाउन सकेको थियो। अन्तिम दुई ओभरमा नेपाललाई जितका लागि जम्मा १६ रन चाहिएको थियो । १९औं ओभरको दोस्रो बलमा एनरिक नोर्टजेले कुशल मल्ललाई १ रनमा बोल्ड गराए । पाँचौं बलमा सोमपाल कामीले छक्का प्रहार गरे । अन्तिम बलमा उनले दुई रन प्रहार गरेपछि अन्तिम ओभरमा ८ रनको आवश्यकता थियो। अन्तिम ओभरको पहिलो दोस्रो बलमा बार्टमनले गुलशनलाई डट बल गरे । तेस्रो बलमा गुलशनले चौका प्रहार गरे । चौथो बलमा उनले दुई रन लिए । पाँचौं बल भने डट बल रह्यो ।अन्तिम बलमा जितका लागि २ रन चाहिएकोमा गुलशनले कुनै शट खेल्न सकेनन् । बाईमा रन लिने क्रममा उनी रन आउट भए र नेपालले हार बेहोर्नु पर्यो।
