
काठमाडौं, भदौ २१ गते ।
ज्ञानोदय बालवाटिकाको आयोजनामा बुङमतिमा जारी ३२औँ स.बल ज्ञान कार्निभलअन्तर्गत ब्वाइज फुटबलमा डिएभी स्कुल सेमिफाइनलमा प्रवेश गरेको छ ।

आइतबार भएको क्वार्टरफाइनल खेलमा डिएभीले पाठशाला स्कुललाई २–० गोलले पराजित गर्दै अन्तिम चारमा स्थान सुरक्षित गरेको हो । आयोजक ज्ञानोदय बालवाटिकाको मैदानमा भएको खेलमा डिएभीका लागि सुदीप बुढाथोकी र विमर्श घिमिरेले एक–एक गोल गरे । दुवै टोलीले आक्रामक खेल प्रस्तुत गरे पनि डिएभीले पाएका अवसरलाई सदुपयोग गर्दै खेल आफ्नो पक्षमा पारेको हो ।
डिएभीसँगै लिटिल एन्जल्स अर्थात् एलए र आयोजक ज्ञानोदय बालवाटिका पनि ब्वाइज फुटबलको सेमिफाइनलमा प्रवेश गरिसकेका छन् । अब सेमिफाइनल पुग्ने चौथो टोलीको टुंगो लाग्न बाँकी छ ।
यता, गल्र्स फुटबलको सुपर लिगमा एभीएम स्कुलले इस्टपोललाई १–० गोलले पराजित गरेको छ । एभीएमको जितमा आरोषी शर्माले निर्णायक गोल गरिन् । प्रतिस्पर्धात्मक खेलमा गरेको एक मात्र गोल नै एभीएमलाई महत्वपूर्ण तीन अंक दिलाउन पर्याप्त बन्यो ।
एभीएमको जितसँगै गल्र्स फुटबलमा उपाधि होड थप रोचक बनेको छ । एभीएम र इस्टपोलसँगै रातो बंगलाको पनि फाइनलमा पुग्ने सम्भावना कायमै रहेको छ । बाँकी खेलको नतिजाले फाइनल पुग्ने टोलीको टुंगो लाग्नेछ ।
एभीएम स्कुलकी फुटबल कप्तान ओजशा नेपालले पढाइसँगै फुटबललाई पनि निरन्तरता दिने बताएकी छन् । उनले आगामी दिनमा फुटबलमा अझै मेहनत गर्दै राष्ट्रिय टोलीको खेलाडी बन्ने लक्ष्य रहेको बताइन् । पढाइ र खेलकुदलाई सँगसँगै अघि बढाउँदै आफ्नो खेल क्षमता विकास गर्ने उनको भनाइ छ ।

प्रतियोगिताअन्तर्गत ब्वाइज बास्केटबलमा लिटिल एन्जल्स, आयोजक ज्ञानोदय बालवाटिका र एलआरआई स्कुलले सेमिफाइनलमा स्थान बनाएका छन् । ब्वाइजतर्फ सेमिफाइनल पुग्ने एक टोलीको टुंगो लाग्न भने बाँकी छ ।
त्यस्तै, गर्ल्स बास्केटबलमा रातो बंगला ‘बी’, लिटिल एन्जल्स र आयोजक ज्ञानोदय बालवाटिका सेमिफाइनलमा प्रवेश गरेका छन् । गर्ल्सतर्फ पनि सेमिफाइनलमा पुग्ने एक टोलीको टुंगो लाग्न बाँकी रहेको आयोजकले जनाएको छ ।
विद्यार्थीको खेल प्रतिभा विकास तथा विद्यालयस्तरीय खेलकुदलाई प्रवर्द्धन गर्ने उद्देश्यले आयोजना गरिएको प्रतियोगितामा विभिन्न विद्यालयका खेलाडीले फुटबल र बास्केटबलका विभिन्न विधामा प्रतिस्पर्धा गरिरहेका छन् । प्रतियोगिताका खेलहरूमा विद्यार्थी खेलाडीले उत्साहजनक प्रदर्शन गरिरहेका छन् ।
स.बल फाउन्डेसनको मुख्य प्रायोजन तथा सफल दूध र चोकोफन क्रसको सह–प्रायोजनमा भइरहेको ३२औँ स.बल ज्ञान कार्निभल शुक्रबार सम्पन्न हुनेछ । प्रतियोगिताका बाँकी खेलसँगै विभिन्न विधाका विजेता टोलीको टुंगो लाग्नेछ ।