
काठमाडौं, भदौ १६ गते ।
ज्ञानोदय बालवाटिकाको आयोजनामा जारी ३२औँ स.बल ज्ञान कार्निभलअन्तर्गत मंगलबार बास्केटबल र फुटबलतर्फ विभिन्न विद्यालयका टोलीले प्रतिस्पर्धा गरेका छन्। घरेलु कोर्टमा आयोजक ज्ञानोदयसहित लिटिल एन्जल्स (एलए) र रातो बंगला स्कुलले विभिन्न खेलमा सफलता हात पारेका छन्।

बुङमतिस्थित ज्ञानोदय बालवाटिकाको घरेलु कोर्टमा भएको गल्र्स बास्केटबलमा आयोजक ज्ञानोदयले एलआरआईलाई २०–८ अंकले पराजित गर्यो। ज्ञानोदयको जितमा सुवेक्षा वज्राचार्यले उत्कृष्ट प्रदर्शन गर्दै व्यक्तिगत रूपमा १० अंक जोडिन्।
गल्र्स बास्केटबलकै अर्को खेलमा लिटिल एन्जल्सले रातो बंगला ‘ए’ लाई १६–८ अंकले हरायो। लिटिल एन्जल्सका लागि स्कार्लेट प्रजापतिले पाँच अंकको योगदान गरिन्।

यस्तै, गल्र्स बास्केटबलमा रातो बंगला स्कुलले एलिक्सर एकेडेमीलाई २०–११ अंकले पराजित गर्यो। रातो बंगला स्कुलकी आयषा जफ्फरले टोलीको जितमा महत्वपूर्ण भूमिका निर्वाह गर्दै सर्वाधिक १० अंक जोडिन्।

ब्वाइज बास्केटबलतर्फ एलिक्सर एकेडेमीले डीएभीलाई ३५–१४ अंकको फराकिलो अन्तरले पराजित गर्यो। एलिक्सरका एम्ब्रोसले व्यक्तिगत रूपमा सर्वाधिक १६ अंक बनाए। अर्को खेलमा लिटिल एन्जल्सले रातो बंगला स्कुललाई २६–१८ अंकले हरायो। लिटिल एन्जल्सका सुजल यादवले १२ अंक जोड्दै टोलीको जितमा योगदान दिए।

बास्केटबलसँगै फुटबलतर्फ पनि मंगलबार प्रतिस्पर्धात्मक खेलहरू भए। गल्र्स फुटबलमा रातो बंगला स्कुलले आयोजक ज्ञानोदयलाई ४–० गोलले पराजित गर्यो। रातो बंगला स्कुलका लागि इभाना सुवेदी र स्वीकृति शाहले समान दुई–दुई गोल गरे।
गल्र्स फुटबलकै अर्को खेलमा लिटिल एन्जल्सले त्रियोगलाई २–० गोलले पराजित गर्यो। लिटिल एन्जल्सकी अभिव्यक्ति तामाङले टोलीका दुवै गोल गरिन्।
ब्वाइज फुटबलमा पनि लिटिल एन्जल्सले विजयी सुरुआत गर्दै पाठशालालाई २–० गोलले हरायो। लिटिल एन्जल्सका अक्षय श्रेष्ठले एक गोल गरे भने अर्को गोल आत्मघाती गोलका रूपमा प्राप्त भयो।

प्रतियोगिताका खेलहरू भइरहँदा ज्ञानोदय बालवाटिकाकी संस्थापक प्रिन्सिपल इन्दिरा याक्थुम्बाले मैदानमै पुगेर खेलाडीलाई हौसला प्रदान गरेकी थिइन्। उनले खेलाडीहरूको प्रदर्शन अवलोकन गर्दै उनीहरूलाई निरन्तर मेहनत, अनुशासन र खेलप्रतिको समर्पणका लागि प्रेरित गरिन्।
संस्थापक प्रिन्सिपल याक्थुम्बाले विद्यालयले शिक्षा मात्र नभई खेलकुदलाई पनि विद्यार्थीको समग्र विकासको महत्वपूर्ण आधारका रूपमा लिँदै आएको बताइन्। उनका अनुसार खेलकुदले विद्यार्थीमा अनुशासन, आत्मविश्वास, नेतृत्व क्षमता, सहकार्य र प्रतिस्पर्धात्मक भावना विकास गर्न महत्वपूर्ण भूमिका खेल्छ।
ज्ञानोदयले यसपटक गल्र्स फुटबलमा पहिलोपटक सहभागिता जनाएको जानकारी दिँदै उनले नयाँ विधामा सहभागी हुनु नै विद्यालयका विद्यार्थीका लागि महत्वपूर्ण अनुभव भएको बताइन्। पहिलो सहभागितामै खेलाडीले राम्रो सम्भावना देखाएको उल्लेख गर्दै उनले आगामी दिनमा अझ व्यवस्थित तयारीका साथ प्रतियोगितामा सहभागी भएर च्याम्पियनसिप जित्ने लक्ष्य रहेको बताइन्।

याक्थुम्बाले ज्ञान कार्निभललाई विद्यालयको वार्षिक कार्यक्रम मात्र नभई विद्यार्थीमा रहेको खेल प्रतिभा पहिचान र विकास गर्ने महत्वपूर्ण माध्यमका रूपमा समेत लिँदै आएको बताइन्। उनका अनुसार लामो समयदेखि आयोजना हुँदै आएको यस प्रतियोगिताले विभिन्न विद्यालयका विद्यार्थीलाई एकै मैदानमा ल्याएर आफ्नो क्षमता प्रदर्शन गर्ने अवसर प्रदान गर्दै आएको छ।

आफ्नो परिवारको खेलकुदसँगको सम्बन्धलाई स्मरण गर्दै उनले आफ्ना श्रीमान् पनि खेलाडी रहेको र त्यही खेलप्रतिको लगाव तथा प्रेरणाबाट विद्यालयमा खेलकुद गतिविधिलाई निरन्तर प्राथमिकता दिँदै आएको बताइन्। उनका अनुसार विद्यालयले खेलकुदलाई प्राथमिकतामा राख्दै आएको अहिले ३२औँ वर्षसम्मको यात्राले पनि त्यसको निरन्तरता र प्रतिबद्धतालाई पुष्टि गर्छ।
साथै भ्वाइस प्रिन्सिपल राजिब गुरुङ्ले ज्ञानोदय बालवाटिकाले विगतमा राष्ट्रिय स्तरका खेलाडीसमेत उत्पादन गरिसकेको उल्लेख गर्दै आगामी दिनमा पनि प्रतिभाशाली खेलाडी उत्पादन गर्ने लक्ष्य रहेको बताइन्। विद्यालयबाट राष्ट्रिय खेलाडी विराज महर्जनलगायतका खेलाडी उत्पादन भइसकेको उल्लेख गर्दै उनले नयाँ पुस्ताका विद्यार्थीलाई पनि खेलकुदमा अघि बढाउन विद्यालयले आवश्यक वातावरण र अवसर उपलब्ध गराउने प्रतिबद्धता व्यक्त गरिन्।

प्रतियोगितामा स.बलको मुख्य प्रायोजन रहेको छ भने सफल दूध र फन पार्टनर चोकोफन क्रसको सह–प्रायोजन रहेको छ। विद्यालयस्तरका विद्यार्थीलाई खेलकुदमा सक्रिय बनाउने उद्देश्यसहित आयोजना हुँदै आएको ज्ञान कार्निभलमा विभिन्न विद्यालयका टोलीले बास्केटबल र फुटबललगायतका विधामा प्रतिस्पर्धा गरिरहेका छन्।
ज्ञानोदय बालवाटिका सन् १९७५ मा स्थापना भएको हो। विद्यालयले सन् १९९४ देखि ज्ञान कार्निभल आयोजना गर्दै आएको छ। लामो समयदेखि निरन्तर आयोजना हुँदै आएको यो प्रतियोगिता विद्यालयस्तरका पुराना तथा लोकप्रिय खेलकुद प्रतियोगितामध्ये एकका रूपमा परिचित छ। यसपटक पनि प्रतियोगितामा बास्केटबल र फुटबलतर्फ विभिन्न विद्यालयका टोलीको सहभागिता रहेको छ।