
काठमाडौं,भदौ १५ गते ।
यूएईले एसीसी प्रिमियर कपमा विजयी सुरुआत गरेको छ । सोमबार भएको खेलमा अबिद उस्मानीको सानदार ब्याटिङ र बलरको प्रभावशाली प्रदर्शनको मद्दतमा यूएईले कतारलाई ९२ रनले पराजित गर्दै प्रतियोगितामा सुखद सुरुआत गरेको हो ।
मलेसियाको क्वालालम्पुरस्थित बायुमास ओभल मैदानमा भएको खेलमा टस जितेर पहिले ब्याटिङ गरेको यूएईले निर्धारित ५० ओभरमा नौ विकेट गुमाउँदै २ सय ६३ रनको बलियो योगफल तयार पारेको थियो । जवाफमा कतारको टोली ३७.३ ओभरमा १ सय ७१ रनमै अलआउट भएपछि यूएईले सहज जित हात पारेको हो ।
यूएईको इनिङ्समा ओपनर अबिद उस्मानीले उत्कृष्ट प्रदर्शन गरे । उनले १ सय ६ बलको सामना गर्दै ५ चौका र ४ छक्काको मद्दतमा ९२ रन बनाए । शतक नजिक पुगेका उस्मानीको आक्रामक र संयमित इनिङ्स यूएईलाई बलियो स्कोरसम्म पुर्याउने मुख्य आधार बन्यो ।
उस्मानीले सुरुदेखि नै इनिङ्सलाई सम्हाल्दै आवश्यक समयमा आक्रामक ब्याटिङ गरेका थिए । उनले चौका र छक्कामार्फत रन गति बढाउनुका साथै लामो समय क्रिजमा टिकेर यूएईको स्कोर उकासे ।
तल्लोक्रममा सोहेब खान र आयान खानले पनि महत्वपूर्ण योगदान दिए । सोहेबले ३८ बलमा ६ चौका र एक छक्कासहित ४१ रन बनाए । आयानले भने केवल २४ बलमा २ चौका र ३ छक्काको मद्दतमा ४१ रन जोड्दै यूएईको स्कोरलाई तीव्र गतिमा अघि बढाए ।
त्यसैगरी आकाशदीप नाथले २४ रन बनाए भने राहुल चोपरा र खुजैमा बिन तान्भिरले समान १८ रनको योगदान दिए । ब्याटरहरूको सामूहिक प्रदर्शनका कारण यूएईले ५० ओभरमा २ सय ६३ रनको प्रतिस्पर्धात्मक योगफल खडा गर्न सफल भयो ।
कतारका लागि मिर्जा मोहम्मद बैगले तीन विकेट लिए । उनले नौ ओभरमा एक मेडन राख्दै ६२ रन खर्चिए । मुजिब उर रहमान र ओवाइस अहमदले समान दुई विकेट लिए पनि यूएईलाई ठूलो स्कोर बनाउनबाट रोक्न सकेनन् ।
२ सय ६४ रनको लक्ष्य पछ्याएको कतारले भने सुरुवातमा केही आशा जगाए पनि त्यसलाई जितमा परिणत गर्न सकेन । कतार ३७.३ ओभरमा १ सय ७१ रनमै समेटियो ।
कतारका ओपनर जुबैर अली र इमाल मालिन्डुले दोस्रो विकेटका लागि ६२ रनको साझेदारी गर्दै इनिङ्स सम्हाल्ने प्रयास गरेका थिए । जुबैरले ७० बलमा पाँच चौकासहित ४० रन बनाए । अर्का ओपनर मालिन्डुले ७९ बलमा ९ चौका र एक छक्कासहित ७० रन बनाएर कतारको इनिङ्समा सर्वाधिक योगदान दिए ।
जेसन हैदरले १७ रन जोड्दा कतारका अन्य ब्याटरले भने दोहोरो अंकमा रन बनाउन सकेनन् । लगातार विकेट गुमाउँदै गएपछि कतार ठूलो लक्ष्य पछ्याउन असफल भयो ।
यूएईका लागि खुजैमा बिन तान्भिर र हैदर अलीले समान दुई विकेट लिए । उनीहरूको प्रभावशाली बलिङसँगै अन्य बलरले पनि कतारका ब्याटरलाई दबाबमा राखे । फलस्वरूप कतार ४० ओभर पनि पूरा गर्न नपाउँदै अलआउट भयो ।
यस जितसँगै यूएईले एसीसी प्रिमियर कपमा महत्वपूर्ण दुई अंक जोडेको छ । ब्याटिङतर्फ उस्मानीको ९२ रन र बलिङतर्फ सामूहिक प्रदर्शन यूएईको जितका मुख्य आधार बने । प्रतियोगिताको सुरुआतमै ९२ रनको फराकिलो जित निकाल्दै यूएईले आफ्नो दाबेदारीसमेत प्रस्तुत गरेको छ ।