बहराइनमाथि सात विकेटको सहज जितसँगै नेपाललाई एसीसी प्रिमियर कपमा विजयी सुरुआत

काठमाडौं,भदौ १५ गते।
नेपालले एसीसी प्रिमियर कपमा विजयी सुरुआत गरेको छ । मलेसियामा जारी प्रतियोगिताअन्तर्गत सोमबार भएको खेलमा नेपालले बहराइनलाई सात विकेटले पराजित गर्दै प्रतियोगितामा सुखद सुरुआत गरेको हो ।

मलेसियास्थित यूकेएम यूएसडी ओभलमा बहराइनले दिएको ८८ रनको सामान्य लक्ष्य नेपालले २१ ओभरमा तीन विकेट गुमाएर पूरा गर्‍यो । सामान्य लक्ष्य पछ्याएको नेपालले सुरुवाती केही विकेट गुमाए पनि अर्जुन कुमाल र रोहितकुमार पौडेलले संयमित ब्याटिङ गर्दै टोलीलाई सहज जित दिलाए ।

नेपालका लागि अर्जुन कुमालले अविजित ३६ रन बनाए । उनले धैर्यपूर्वक ब्याटिङ गर्दै इनिङ्स सम्हालेका थिए । उनलाई साथ दिएका रोहितकुमार पौडेल १९ रनमा अविजित रहे । त्यसअघि ओपनर आसिफ शेखले १८ रन तथा देव खनालले १० रन जोड्दै नेपालको जितको आधार तयार गरेका थिए ।

बहराइनका इमरान जाबेद अन्वरले दुई विकेट लिए पनि नेपालको जित रोक्न सकेनन् । नेपालले लक्ष्य सामान्य रूपमा पूरा गर्दै सात विकेट हातमा राखेर खेल आफ्नो पक्षमा पार्‍यो ।

यसअघि टस हारेर पहिले ब्याटिङको निम्तो पाएको बहराइन नेपाली बलरको उत्कृष्ट प्रदर्शनसामु टिक्न नसक्दा ३६.२ ओभरमा ८७ रनमै अलआउट भएको थियो । बहराइनका ब्याटरले ठूलो साझेदारी बनाउन नसक्दा टोली सानो योगफलमा समेटिएको हो ।

बहराइनका लागि फैज अहमदले सर्वाधिक १५ रन बनाए । मोहम्मद वासिमले १३ तथा अली दाउदले १० रन जोड्दा अन्य कुनै पनि ब्याटरले दोहोरो अंकमा रन बनाउन सकेनन् । नेपाली बलरले लगातार दबाब सिर्जना गर्दै बहराइनको ब्याटिङ लाइनअपलाई कमजोर बनाएका थिए ।

नेपालका कप्तान सन्दीप लामिछानेले घातक बलिङ गर्दै पाँच विकेट लिए । उनले आफ्नो १० ओभरको स्पेलमा चार मेडन राख्दै केवल १४ रन खर्चिए । कप्तानीमा फर्किएपछिको पहिलो आधिकारिक खेलमै सन्दीपले बलबाट प्रभावशाली प्रदर्शन गरेका हुन् ।

सन्दीपलाई साथ दिँदै ललितनारायण राजवंशीले तीन तथा करण केसीले दुई विकेट लिए । नेपाली बलरको सामूहिक प्रदर्शनका कारण बहराइन १०० रनको आँकडा पार गर्नसमेत असफल भयो ।

नेपाल क्रिकेट संघ (क्यान) ले गत महिना रोहितकुमार पौडेललाई कप्तानीबाट हटाउँदै सन्दीप लामिछानेलाई पुनः राष्ट्रिय टोलीको कप्तानीको जिम्मेवारी दिएको थियो । त्यसपछि कप्तानका रूपमा सन्दीपको यो पहिलो आधिकारिक अन्तर्राष्ट्रिय खेल हो । पहिलो खेलमै पाँच विकेट लिएर उनले कप्तानीमा पुनरागमनलाई शानदार बनाएका छन् ।

बहराइनमाथिको जितसँगै नेपालले प्रतियोगितामा महत्वपूर्ण दुई अंक जोडेको छ । अब नेपालले आफ्नो दोस्रो खेलमा बिहीबार घरेलु टोली मलेसियाको सामना गर्नेछ । मलेसियाविरुद्ध पनि जित निकाल्दै नेपाल प्रतियोगितामा आफ्नो दाबेदारी बलियो बनाउने लक्ष्यमा हुनेछ ।

Share

जवाफ लेख्नुहोस्

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ