
काठमाडौँ,भदौ ७ गते ।
नेपालमा पहिलोपटक आयोजना भएको ‘पीएसए नेपाल सेटलाईट स्क्वास प्रतियोगिता–२०२६’ दोस्रो दिन जारी पीएसए स्याटेलाइट स्क्वास प्रतियोगिताको तेस्रो दिन क्वार्टरफाइनल चरणका खेलसँगै ९औँदेखि १६औँ स्थानका लागि खेलहरु भएका छन् ।
क्वार्टरफाइनलमा मलेसियाका नितिश मनिमारनले आफ्नै देशका अबिनास अनबरासुलाई ३–२ को रोमाञ्चक खेलमा पराजित गर्दै सेमिफाइनलमा स्थान बनाए । नितिशले १२–१०, ६–११, ११–६, १३–१५ र ११–८ को स्कोरमा खेल जितेका हुन् ।
श्रीलंकाका वाकिल एम. शमिलले नेपालका अहरान्त केशर सिंहलाई ३–१ ले हराए । उनले ११–६, ११–९, ४–११ र ११–४ को स्कोरमा जित निकाल्दै अन्तिम चारमा स्थान सुरक्षित गरे ।
अर्को क्वार्टरफाइनलमा श्रीलंकाकै नेभिन्दु लन्कमनले नेपालका दीपक थापालाई सोझो सेटमा पराजित गरे । नेभिन्दुले ११–८, ११–४ र ११–४ को जित निकाल्दै सेमिफाइनल यात्रा तय गरे ।
यस्तै, बेलायतका इओन शार्पले बंगलादेशका हसन आबिदलाई ३–० ले पराजित गरे । शार्पले ११–४, ११–५ र ११–७ को सहज जितसहित अन्तिम चारमा स्थान बनाए ।
यससँगै प्रतियोगिताको सेमिफाइनल समीकरण पूरा भएको छ । अब सेमिफाइनलमा मलेसियाका नितिश मनिमारनले श्रीलंकाका वाकिल एम. शमिलसँग र श्रीलंकाका नेभिन्दु लन्कमनले बेलायतका इओन शार्पसँग खेल्नेछन् ।
यसैबीच, ९औँदेखि १६औँ स्थान निर्धारणका लागि भएका खेलमा नेपालका पासाङ भ्लोनले आफ्नै देशका सरोज तामाङलाई ३–० ले हराए । पासाङले ११–५, ११–८ र ११–८ को स्कोरमा जित हात पारे ।
भारतका अनमय रुंग्टाले नेपालकी नाइना बहादुर मगरलाई ३–० ले पराजित गरे । उनले १२–१०, ११–१ र ११–८ को स्कोरमा खेल जिते ।
इटालीका रेन्जो एन्डोर्नोले बंगलादेशका बाउरा दुर्जयलाई ३–० ले हराए । एन्डोर्नोले ११–६, ११–७ र ११–४ को स्कोरमा जित निकाले ।
प्रतियोगिताको सेमिफाइनल चरणसँगै उपाधिका लागि प्रतिस्पर्धा थप रोचक बनेको छ । यता, पराजित खेलाडीहरूबीचको खेलबाट ९औँदेखि १६औँ स्थानसम्मको वरीयता निर्धारण हुँदै जानेछ ।
नेपाल स्क्वास र्याकेट्स संघको आयोजनामा भइरहेको पीएसए स्याटेलाइट स्क्वास प्रतियोगिता २०२६ मा नेपालसहित भारत, बंगलादेश, श्रीलंका, मलेसिया, इटाली र बेलायतका खेलाडी सहभागी छन् । प्रतियोगिताको सेमिफाइनल खेल भोलि र फाइनल खेल पर्सि मगंलबार हुनेछ ।
प्रतियोगिताको कुल पुरस्कार राशि १ हजार अमेरिकी डलर रहेको छ। विजेताले ४ सय अमेरिकी डलर तथा उपविजेताले २ सय अमेरिकी डलर प्राप्त गर्नेछन्। यस्तै, सेमिफाइनलमा पुग्ने दुई खेलाडीले जनही १ सय तथा क्वार्टरफाइनलमा पुग्ने खेलाडीले जनही ५० अमेरिकी डलरसहित ट्रफी र प्रमाणपत्र प्राप्त गर्नेछन्।
