स्वस्तिश्रीमा एस. जी. अन्तरविद्यालय फुटसल सुरु

काठमाडौं भदौ ६ गते ।
स्वस्तिश्री गुरुकुल आई.बी. कन्टिन्युम स्कुलको आयोजनामा ८औँ एस. जी. अन्तरविद्यालय सिनियर फुटसल प्रतियोगिता शनिबारदेखि सुरु भएको छ । चार दिनसम्म सञ्चालन हुने प्रतियोगितामा २५ विद्यालयका ४५ टोलीको सहभागिता रहेको छ ।
नेपाली महिला राष्ट्रिय फुटबल टिमकी सबिता राना मगर र स्वस्तिश्री गुरुकुल आई.बी. कन्टिन्युम स्कुलकी प्रबन्ध निर्देशक मिना महर्जनले फुटबल रेफ्रीलाई बल हस्तान्तरण गरेसँगै प्रतियोगिताको औपचारिक सुरुवात भएको हो। कार्यक्रममा पूर्व राष्ट्रिय खेलाडी तथा सशस्त्र प्रहरी बल (एपीएफ) का मुख्य प्रशिक्षक जिबेसकुमार पाण्डेलगायतको उपस्थिति रहेको थियो ।
प्रतियोगितामा यू–११ ब्वाइज, यू–१२ ब्वाइज, यू–१४ ब्वाइज र यू–११ गल्र्स गरी चार विधामा विभिन्न विद्यालयका युवा खेलाडीहरूले प्रतिस्पर्धा गरिरहेका छन्। प्रतियोगिताले विद्यार्थी खेलाडीहरूलाई प्रतिस्पर्धात्मक खेलको अनुभव हासिल गर्ने, आफ्नो प्रतिभा प्रदर्शन गर्ने तथा अनुशासन, आत्मविश्वास र टिमवर्क विकास गर्ने महत्वपूर्ण अवसर प्रदान गर्ने आयोजकले जनाएको छ।
प्रतियोगिताको उद्घाटन खेलमा आयोजक स्वस्तिश्री गुरुकुल आई.बी. कन्टिन्युम स्कुल र रोजबड स्कुलबीच प्रतिस्पर्धा भएको थियो। उक्त खेलमा स्वस्तिश्रीले २–१ गोल अन्तरले विजयी हुँदै प्रतियोगितामा सुखद सुरुवात गरेको छ। अन्य प्रारम्भिक खेलहरूमा रातो बंगला, पाठशाला नेपाल, जेभियर इन्टरनेसनल, जेम्स, काष्ठमण्डप विद्यालय, राई स्कुल, ग्यालेक्सी स्कुल र हिमशिखर स्कुललगायतका विद्यालयले प्रतिस्पर्धा गरेका छन्।
उद्घाटन समारोहमा बोल्दै प्रमुख अतिथि सबिता राना मगरले पछिल्लो समय बालबालिकाले प्रतिस्पर्धात्मक फुटसल खेल्ने अवसर बढ्दै जानु नेपाली फुटबलको भविष्यका लागि सकारात्मक पक्ष भएको बताउनुभयो। उहाँले युवा खेलाडीहरूलाई आफ्नो प्रतिभा प्रदर्शन तथा विकास गर्ने अवसर प्रदान गरेकोमा स्वस्तिश्री गुरुकुल आई.बी. कन्टिन्युम स्कुलप्रति आभार व्यक्त गर्नुभयो।
स्वस्तिश्री गुरुकुल आई.बी. कन्टिन्युम स्कुलका इसीए को–ओर्डिनेटर राकेशकुमार राईले प्रतियोगिताले विद्यार्थीहरूलाई खेलकुदमार्फत नेतृत्व, अनुशासन, आत्मविश्वास र सहकार्यको भावना विकास गर्न महत्वपूर्ण योगदान पु¥याउने बताउनुभयो ।

Share

जवाफ लेख्नुहोस्

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ