
काठमाडौँ, भदौ ४ गते ।
नेपाल खेलकुद पत्रकार मञ्चको आयोजनामा हुँदै आएको प्रतिष्ठित एनएसजेएफ पल्सर स्पोर्ट्स अवार्ड २०८२ लाई इम्बार्क कलेजले साथ दिएको छ । अवार्डको २३औँ संस्करण आगामी भदौ १८ गते काठमाडौँमा आयोजना हुँदैछ ।
इम्बार्क कलेज अवार्डको ‘हायर एजुकेसन पार्टनर’ का रूपमा जोडिएको हो । सहकार्यअन्तर्गत मञ्चले छनोट गर्ने एक जना राष्ट्रिय खेलाडीलाई इम्बार्क कलेजले स्नातक वा स्नातकोत्तर तहमा अधिकतम १८ लाख रुपैयाँसम्मको पूर्ण छात्रवृत्ति प्रदान गर्नेछ ।
खेलाडीको खेल जीवनसँगै शैक्षिक भविष्यलाई पनि अघि बढाउने उद्देश्यले गरिएको यो सहकार्यलाई नेपाली खेलकुद क्षेत्रका लागि महत्वपूर्ण कदमका रूपमा हेरिएको छ । खेलाडीले उच्चस्तरीय प्रतिस्पर्धाका साथै आफ्नो उच्च शिक्षालाई समेत निरन्तरता दिन सकून् भन्ने उद्देश्यले छात्रवृत्तिको व्यवस्था गरिएको हो ।
त्यस्तै, नेपाल खेलकुद पत्रकार मञ्चअन्तर्गतको एनएसजेएफ एकेडेमीले आयोजना गर्ने रिसर्च, तालिम तथा मेन्टरसिप कार्यक्रमहरूमा समेत इम्बार्क कलेजले सहयोग गर्नेछ । यसले खेल पत्रकारिता, खेल अनुसन्धान तथा खेलकुदसँग सम्बन्धित विभिन्न क्षेत्रमा क्षमता विकास गर्न सहयोग पुग्ने अपेक्षा गरिएको छ ।
सहकार्यसम्बन्धी सम्झौतापत्रमा नेपाल खेलकुद पत्रकार मञ्चका अध्यक्ष निरञ्जन अधिकारी तथा इम्बार्क कलेजका कार्यकारी निर्देशक तथा प्रमुख कार्यकारी अधिकृत आसिस ठाकुरको तर्फबाट निरज न्यौपानेले हस्ताक्षर गर्नुभयो ।
सम्झौतापछि इम्बार्क कलेजका तर्फबाट ठाकुरले नेपाल खेलकुद पत्रकार मञ्चले आयोजना गर्ने प्रतिष्ठित पल्सर स्पोर्ट्स अवार्डसँग जोडिन पाउँदा खुसी व्यक्त गर्दै आगामी दिनमा सहकार्यलाई अझ विस्तार र मजबुत बनाउँदै लैजाने प्रतिबद्धता जनाउनुभयो ।
नेपाली खेलकुद क्षेत्रका उत्कृष्ट खेलाडी, प्रशिक्षक तथा खेलकर्मीको योगदानलाई सम्मान गर्दै आएको एनएसजेएफ पल्सर स्पोर्ट्स अवार्ड को यस वर्षको तयारी अन्तिम चरणमा पुगेको छ । नेपाली खेलकुदलाई राष्ट्रिय तथा अन्तर्राष्ट्रियस्तरमा उचाइमा पुर्याउन योगदान गर्ने खेलाडी तथा खेलकर्मीलाई विभिन्न विधामा सम्मान तथा पुरस्कार प्रदान गरिनेछ ।
यसैबीच, अवार्डको महत्वपूर्ण विधा ‘पिपुल्स च्वाइस’ को मनोनयनसमेत सार्वजनिक भइसकेको छ । यस विधामा फुटबलकी पूजा राना, मिक्सड मार्शल आर्ट्स अर्थात् एमएमएका रविन्द्र ढाँट, क्रिकेटका शेर मल्ल, भलिबलकी मिना सुनार र कराँतेकी सानु माया थिङ मनोनयनमा परेका छन् ।
मनोनयनमा परेका खेलाडीलाई खल्ती वालेट, एनएसजेएफ पल्सर स्पोर्ट्स अवार्डको फेसबुक पेज तथा पल्सर नेपालको फेसबुक पेजमार्फत मतदान गर्न सकिनेछ ।
नेपाल खेलकुद पत्रकार मञ्च नेपाली खेल पत्रकारहरूको छाता संगठनका रूपमा सक्रिय रहँदै आएको छ । खेलाडीको प्रदर्शनलाई सम्मान गर्नुका साथै नेपाली खेलकुदको विकास र प्रवर्द्धनमा योगदान पुर्याउने उद्देश्यले आयोजना हुँदै आएको पल्सर स्पोर्ट्स अवार्ड नेपाली खेलकुद क्षेत्रकै बहुप्रतीक्षित कार्यक्रमका रूपमा स्थापित भएको छ ।