एसियाली खेलकुदमा पदक लक्ष्य, प्रशिक्षणमा व्यस्त टिम काता नेपाली खेलाडी


काठमाडौं, भदौ ४ गते ।
नेपाली खेलकुदमा पछिल्लो समय उत्कृष्ट नतिजा दिँदै आएको कराते आगामी २०औँ एसियाली खेलकुदमा नेपालका लागि सबैभन्दा बढी आशा गरिएको खेल बनेको छ। अघिल्लो संस्करणमा ऐतिहासिक रजत पदक जितेको कराते टोली यसपटक पनि पदकको लक्ष्यसहित जापान जाने तयारीमा जुटेको छ।

पछिल्ला केही वर्षयता अन्तर्राष्ट्रिय प्रतियोगितामा निरन्तर सफलता हासिल गरिरहेको नेपाली करातेले आगामी २०औँ एसियाली खेलकुदमा पनि पदक जित्ने लक्ष्य राखेको छ।

१९औँ एसियाली खेलकुदमा नेपालकी एरिका गुरुङले महिला कुमितेतर्फ ऐतिहासिक रजत पदक जित्दै नेपाली करातेको इतिहासमा नयाँ अध्याय थपेकी थिइन्। त्यही उपलब्धिले यसपटक पनि करातेबाट नेपालले उल्लेखनीय सफलता हासिल गर्ने अपेक्षा बढाएको छ।

आगामी सेप्टेम्बर १९ देखि अक्टोबर ४ सम्म जापानको आइची र नागोयामा आयोजना हुने २०औँ एसियाली खेलकुदका लागि नेपाली टोलीले तीव्र तयारी गरिरहेको छ। यसपटक नेपालले कुमितेसँगै कातातर्फ पनि प्रतिस्पर्धा गर्दै नयाँ इतिहास रच्ने लक्ष्य बनाएको छ।

राष्ट्रिय कराते टोलीका काता प्रशिक्षक मण्डेकाजी श्रेष्ठका अनुसार नेपालले व्यक्तिगत कातामा सानुमाया थिङलाई मैदानमा उतार्नेछ भने महिला टिम कातामा सानुमाया थिङ, मेघा लिम्बू र एलिसा रास्कोटी मगरले प्रतिस्पर्धा गर्नेछन्। एसियाली खेलकुदमा नेपालले महिला टिम कातामा सहभागिता जनाउन लागेको यो पहिलो अवसर हुनेछ।

एसियाली खेलकुदको नियमअनुसार १७ मध्ये आठ इभेन्टमा मात्र सहभागिता जनाउन पाइने भएकाले नेपालले पुरुष व्यक्तिगत काताको स्थानमा महिला टिम कातालाई प्राथमिकता दिएको हो।

यसैबीच, टिम काताको अनुभव बढाउने उद्देश्यले नेपाल कराते महासंघले टोलीलाई बंगलादेशमा सम्पन्न १०औँ दक्षिण एसियाली कराते च्याम्पियनसिपमा सहभागी गराएको थियो। छोटो तयारीका बाबजुद नेपाली टोलीले त्यहाँ स्वर्ण पदक जित्न सफल भएपछि खेलाडीको आत्मविश्वास थप उकासिएको छ।

लामो समयको प्रशिक्षण, अन्तर्राष्ट्रिय प्रतियोगिताबाट प्राप्त अनुभव र पछिल्ला सफलताले जापानमा अझ राम्रो प्रदर्शन गर्न सकिने विश्वास खेलाडी तथा प्रशिक्षक दुवैले व्यक्त गरेका छन्।

२०औँ एसियाली खेलकुदमा नेपालबाट २२ खेलमा ८० पुरुष र ५६ महिला गरी कुल १३६ खेलाडीले सहभागिता जनाउनेछन्। टोलीसँग ३२ जना प्रशिक्षक रहनेछन्। करातेतर्फ भने तीन पुरुष र पाँच महिला गरी आठ खेलाडीले नेपालको चुनौती प्रस्तुत गर्नेछन्।

करातेको जन्मभूमि मानिने जापानमा आयोजना हुने प्रतियोगितालाई लक्षित गर्दै नेपाली खेलाडीलाई त्यहाँको मौसम, वातावरण र प्रतिस्पर्धात्मक अवस्थासँग अभ्यस्त गराउने विशेष तयारीसमेत भइरहेको छ।

अघिल्लो एसियाली खेलकुदमा नेपालले जितेका दुवै पदक महिला खेलाडीबाट आएका थिए। करातेतर्फ एरिका गुरुङले ऐतिहासिक रजत जितेकी थिइन्। यही सफलताबाट प्रेरित सानुमाया थिङ र मेघा लिम्बूले यसपटक अझ उत्कृष्ट प्रदर्शन गर्दै नेपालको पदक यात्रालाई निरन्तरता दिने विश्वास व्यक्त गरेका छन्।

दीर्घकालीन तयारी, अन्तर्राष्ट्रिय अनुभव र पछिल्ला सफलताका कारण नेपाली कराते टोली उच्च मनोबलका साथ जापान प्रस्थान गर्ने तयारीमा छ। त्यसैले आगामी एसियाली खेलकुदमा नेपालका लागि कराते पुनः पदक दिलाउने प्रमुख आशाका रूपमा हेरिएको छ।

नेपालले आगामी एसियाली खेलकुदमा करातेसहित कबड्डी, एथलेटिक्स, बक्सिङ, क्रिकेट, भलिबल, वुसु लगायत २२ खेलमा प्रतिस्पर्धा गर्नेछ।
करातेले पछिल्ला वर्षहरूमा दिलाएको सफलता र खेलाडीहरूको आत्मविश्वासले यसपटक पनि नेपाललाई पदक दिलाउने अपेक्षा गरिएको छ। अब जापानको मञ्चमा नेपाली कराते टोलीले त्यो अपेक्षालाई कति पूरा गर्छ भन्नेमा सबैको नजर रहनेछ।

यतिबेला नेपाली कराते टोली काठमाडौंस्थित दशरथ रङ्गशालाभित्र रहेको नेपाल सितोरियो कराते केन्द्रीय डोजोमा बन्द प्रशिक्षण अर्थात् क्लोज क्याम्प मा व्यस्त छ। प्रशिक्षकको प्रत्यक्ष निगरानीमा खेलाडीहरूले दैनिक शारीरिक तन्दुरुस्ती, प्राविधिक सीप, रणनीतिक अभ्यास तथा मानसिक तयारीलाई केन्द्रमा राख्दै कडा प्रशिक्षण गरिरहेका छन्।

आगामी एसियाली खेलकुदमा उत्कृष्ट प्रदर्शन गर्दै नेपालको लागि पदक जित्ने एउटै लक्ष्यका साथ खेलाडीहरू प्रशिक्षणमा केन्द्रित छन्। जापानको वातावरण र प्रतिस्पर्धाको स्तरलाई ध्यानमा राख्दै प्रशिक्षणलाई थप प्रभावकारी बनाइएको प्रशिक्षकहरूको भनाइ छ।
खेलाडी (सानुमाया थिङ)

“हामी अहिले दशरथ रङ्गशालास्थित नेपाल सितोरियो कराते केन्द्रीय डोजोमा क्लोज क्याम्पमा नियमित प्रशिक्षण गरिरहेका छौं। प्रशिक्षकहरूले निकै मेहनतका साथ तयारी गराइरहनुभएको छ। एसियाली खेलकुद ठूलो प्रतियोगिता भएकाले आफ्नो उत्कृष्ट प्रदर्शन गर्दै नेपालका लागि पदक जित्ने लक्ष्यका साथ अभ्यासमा जुटेका छौं।”

खेलाडी (मेघा लिम्बू)

“टिम कातामा पहिलोपटक एसियाली खेलकुद खेल्ने अवसर पाएका छौं। त्यसैले हामीबीच तालमेल, अनुशासन र समन्वयमा विशेष ध्यान दिएका छौं। पछिल्ला प्रतियोगिताबाट राम्रो अनुभव प्राप्त भएको छ। जापानमा उत्कृष्ट प्रदर्शन गर्दै देशलाई गौरवान्वित बनाउने हाम्रो लक्ष्य हो।”
प्रशिक्षक (मण्डेकाजी श्रेष्ठक)

दैनिक कडा अभ्यास, अन्तर्राष्ट्रिय अनुभव र प्रशिक्षकहरूको निरन्तर मार्गदर्शनका कारण नेपाली कराते टोलीको आत्मविश्वास उच्च देखिएको छ। ऐतिहासिक सफलतालाई निरन्तरता दिँदै जापानमा हुने २०औँ एसियाली खेलकुदबाट नेपाललाई पुनः पदक दिलाउने लक्ष्यसहित टोली अन्तिम तयारीमा जुटेको छ।

Share

जवाफ लेख्नुहोस्

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ