
काठमाडौं,साउन २२ गते ।
काष्ठमण्डप विद्यालयको आयोजनामा जारी दोस्रो क्युकेएस अन्तरविद्यालय फुटसल प्रतियोगिता अन्तर्गत शुक्रबार (दोस्रो दिन) विभिन्न उमेर समूहका १३ खेल सम्पन्न भएका छन्। सिनियर ब्वाइज, जुनियर ब्वाइज र सिनियर गर्ल्सतर्फ भएका खेलमा इम्पेरियल वर्ल्ड, युरो हात्त्तिगौडा , मेरिडियन, केभी ए, दिक्षालय र जोन डेवी विद्यालयले महत्त्वपूर्ण जित हात पारे।
सिनियर ब्वाइजतर्फ इम्पेरियल वर्ल्डले काष्ठमण्डप बीलाई १–० ले तथा जिनियस बीलाई ३–० ले पराजित गर्दै लगातार दुई जित दर्ता गर्यो।काष्ठमण्डप बीले जिनियस बीमाथि १–० को जित निकाल्दा मेरिडियन दिक्षालयसँग १–० ले पराजित भयो। मेरिडियन र युरो हात्त्तिगौडाबीचको खेलमा युरो हात्त्तिगौडाले २–१ को जित निकाल्यो भने दिक्षालय र युरो हात्त्तिगौडा बीचको प्रतिस्पर्धा गोलरहित बराबरीमा टुंगियो। अन्तिम खेलमा केभी एले जोन डेवीलाई २–० ले हरायो।

जुनियर ब्वाइजतर्फ काष्ठमण्डप बीले इम्पेरियल वर्ल्डलाई २–० ले पराजित गर्यो। अर्को खेलमा मेरिडियनले काष्ठमण्डप बीलाई ४–२ ले हराउँदा युरो हात्त्तिगौडाले इम्पेरियल वर्ल्डलाई २–१ तथा मेरिडियनलाई १–० ले पराजित गर्दै उत्कृष्ट प्रदर्शन गर्यो।
सिनियर गर्ल्सतर्फ मेरिडियनले एलआरआईमाथि ४–० को सहज जित निकाल्यो। अर्को खेलमा जोन डेवीले एलआरआईलाई ८ –० ले हराउँदै प्रतियोगितामा प्रभावशाली सुरुआत गरेको छ।
समूह चरणका बाँकी खेल शनिबार हुनेछन् भने उत्कृष्ट प्रदर्शन गर्ने टोलीहरू नकआउट चरणमा प्रवेश गर्नेछन्।
प्रतियोगिता लिग कम नकआउट प्रणालीमा सञ्चालन भइरहेको छ । प्रतियोगितामा जुनियर ब्वाइजतर्फ १५ टोली, सिनियर ब्वाइजतर्फ १६ टोली तथा सिनियर गर्ल्सतर्फ १२ टोली को सहभागिता रहेको छ।
प्रतियोगिता अगस्ट ६ देखि १४ तारिखसम्म सञ्चालन हुने र विभिन्न विधाका उत्कृष्ट टोली तथा खेलाडीलाई समापन समारोहमा पुरस्कार तथा सम्मान प्रदान गरिने ईसीए इन्चार्ज सुन्दर बुढाथोकीले बताए।