लिग–२ को अन्तिम खेलमा नेपाल आज नेदरल्यान्ड्ससँग भिड्दै, जितसहित शृङ्खलाको अन्त्य गर्ने लक्ष्य

काठमाडौं ,साउन १३ गते ।
आईसीसी विश्वकप क्रिकेट लिग–२ अन्तर्गत नेपालले आज घरेलु टोली नेदरल्यान्ड्ससँग प्रतिस्पर्धा गर्दैछ। नेपाली समयअनुसार दिउँसो २ः४५ बजे सुरु हुने यो खेल नेदरल्यान्ड्समा जारी शृङ्खलाअन्तर्गत नेपालको अन्तिम खेल हुनेछ।

लगातार तीन खेलमा पराजय बेहोरेको नेपाल आजको खेलमा जित निकाल्दै शृङ्खलाको सुखद अन्त्य गर्ने लक्ष्यका साथ मैदान उत्रनेछ। पछिल्ला खेलहरूमा अपेक्षित प्रदर्शन गर्न नसकेको नेपाली टोलीका लागि आत्मविश्वास पुनः प्राप्त गर्ने र अंक तालिकामा सुधार ल्याउने अवसरका रूपमा यो खेललाई हेरिएको छ।

नेपालले शृङ्खलाको पहिलो खेलमा नामिबियासँग ८ विकेटको हार बेहोरेको थियो। त्यसपछि दोस्रो खेलमा पनि नेपाल ३ रनको झिनो अन्तरले नामिबियासँग पराजित भएको थियो। त्यस्तै आयोजक नेदरल्यान्ड्सविरुद्धको पहिलो भेटमा नेपाल ६ विकेटले पराजित भएको थियो। लगातार तीन हारपछि नेपालको लय खस्किएको भए पनि टोली आज उत्कृष्ट प्रदर्शन गर्दै नतिजा आफ्नो पक्षमा पार्ने प्रयासमा हुनेछ।

लिग–२ को अंक तालिकामा नेपालको अवस्था चुनौतीपूर्ण बन्दै गएको छ। लगातार तेस्रो हारसँगै शीर्ष चारभित्र रहेर आईसीसी क्रिकेट विश्वकप ग्लोबल क्वालिफायर मा स्थान बनाउने नेपालको सम्भावना निकै कठिन बनेको छ। त्यसैले आजको खेल नेपालका लागि केवल प्रतिष्ठाको मात्र नभई आगामी प्रतियोगिताको सम्भावना जीवित राख्ने हिसाबले पनि महत्वपूर्ण मानिएको छ।

आठ टोली सहभागी लिग–२ प्रतियोगितामा प्रत्येक टोलीले कुल ३६ खेल खेल्ने व्यवस्था रहेको छ। प्रतियोगिताको शीर्ष चार टोली विश्वकप ग्लोबल क्वालिफायरमा छनोट हुनेछन् भने शीर्ष ६ स्थानभित्र रहन सफल टोलीले आफ्नो एकदिवसीय अन्तर्राष्ट्रिय (ODI) मान्यता कायम राख्नेछन्। त्यसैले बाँकी खेलहरूमा सकारात्मक नतिजा निकाल्नु नेपालका लागि अपरिहार्य बन्दै गएको छ।

आजको खेलमा नेपालले ब्याटिङ र बलिङ दुवै विभागमा सुधारिएको प्रदर्शन गर्नुपर्ने दबाब हुनेछ। शीर्षक्रमका ब्याट्सम्यानले जिम्मेवारीपूर्ण इनिङ्स खेल्नुका साथै बलरहरूले सुरुदेखि नै विपक्षीमाथि दबाब सिर्जना गर्न सके नेपालले जित निकाल्ने अपेक्षा गरिएको छ।

नेपाली क्रिकेट समर्थकहरूको ध्यान आजको खेलमा केन्द्रित रहेको छ। कठिन परिस्थितिबीच मैदान उत्रने नेपाली टोलीले जितका साथ शृङ्खलाको अन्त्य गर्दै आगामी चुनौतीका लागि सकारात्मक सन्देश दिने लक्ष्य राखेको छ।

Share

जवाफ लेख्नुहोस्

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ