
काठमाडौं ,साउन १३ गते ।
इटाली राष्ट्रिय फुटबल टोलीका सफल प्रशिक्षक रोबर्टो मान्चिनी दोस्रोपटक टोलीको मुख्य प्रशिक्षकमा नियुक्त भएका छन्। इटाली फुटबल फेडेरेसन (एफआइजिसी)ले आगामी युरोपियन च्याम्पियनसिपलाई लक्षित गर्दै मान्चिनीलाई पुनः राष्ट्रिय टोलीको नेतृत्व सुम्पाएको हो।
मान्चिनीले इटालीका पूर्वविश्वकप विजेता खेलाडी तथा प्रशिक्षक गेनारो गाटुसोको स्थान लिएका हुन्। गाटुसोले टोलीलाई विश्वकपमा छनोट गराउन असफल भएपछि गत अप्रिलमा आफ्नो पदबाट राजीनामा दिएका थिए। इटाली युरोपेली विश्वकप छनोटको प्लेअफ चरणमा बोस्निया एन्ड हर्जगोभिनासँग पराजित भएपछि विश्वकप यात्रा टुंगिएको थियो।
यसअघि मान्चिनीको नेतृत्वमा इटालीले सन् २०२१ मा युरोपियन च्याम्पियनसिप (युरो) को ऐतिहासिक उपाधि जितेको थियो। लन्डनको वेम्ब्ली रंगशालामा भएको रोमाञ्चक फाइनलमा इटालीले इंग्ल्यान्डलाई पेनाल्टी सुटआउटमा पराजित गर्दै दोस्रो पटक युरोपको च्याम्पियन बन्न सफल भएको थियो। उक्त सफलतापछि मान्चिनीको प्रशिक्षण क्षमता अन्तर्राष्ट्रिय फुटबलमा निकै प्रशंसित बनेको थियो।
राष्ट्रिय टोलीसँगै मान्चिनीले क्लब फुटबलमा पनि उल्लेखनीय सफलता हासिल गरेका छन्। उनले इंग्लिस क्लब म्यानचेस्टर सिटी, इटालीका इन्टर मिलान, लाजियो, बोलोग्ना तथा टर्कीको गालातासारेजस्ता प्रतिष्ठित क्लबहरूको प्रशिक्षण सम्हालिसकेका छन्। त्यस्तै उनले हालै साउदी अरेबियाको राष्ट्रिय टोलीको मुख्य प्रशिक्षकका रूपमा समेत काम गरेका थिए।
यसैबीच, इटाली फुटबल फेडेरेसनले अनुभवी प्रशिक्षक क्लाउडिओ राइनेरीलाई टोलीको टेक्निकल डाइरेक्टर नियुक्त गरेको छ। राइनेरीको अनुभव र मान्चिनीको नेतृत्वले इटालीलाई पुनः युरोप तथा विश्व फुटबलको शीर्ष प्रतिस्पर्धामा स्थापित गर्ने अपेक्षा गरिएको छ।
मान्चिनीको पुनरागमनसँगै इटाली फुटबलमा नयाँ उत्साह थपिएको छ। सन् २०२१ को गौरवपूर्ण सफलतालाई दोहोर्याउने लक्ष्यका साथ इटालीले आगामी युरोपियन च्याम्पियनसिपको तयारी अघि बढाउने विश्वास गरिएको छ।