तीन दिने रेफ्री सेमिनार सम्पन्न , तेक्वान्दो रेफ्री उत्पादनमा जोड, खेल प्रशासनको विवाद समाधान गर्न सरकार प्रतिबद्ध

काठमाडौं साउन १० गते ।

राष्ट्रिय तेक्वान्दो संघ–नेपालको आयोजनामा सातौं राष्ट्रिय क्योरुगी रेफ्री सेमिनार, छैटौं राष्ट्रिय क्योरुगी रेफ्री रिफ्रेसर कोर्स, पाँचौं राष्ट्रिय पुम्से रेफ्री सेमिनार तथा चौथो राष्ट्रिय पुम्से रेफ्री रिफ्रेसर कोर्स सफलतापूर्वक सम्पन्न भएको छ।

दशरथ रंगशालामा तीन दिनसम्म सञ्चालन भएको कार्यक्रममा बागमती प्रदेशका १३१ जना प्रशिक्षकको सहभागिता रहेको थियो। सेमिनारमार्फत अन्तर्राष्ट्रिय मापदण्डअनुसार दक्ष रेफ्री उत्पादन, खेल सञ्चालनको गुणस्तर अभिवृद्धि तथा तेक्वान्दोको प्राविधिक क्षमता विकास गर्ने उद्देश्य राखिएको आयोजकले जनाएको छ।

समापन समारोहका प्रमुख अतिथि शिक्षा तथा खेलकुद मन्त्रालयका प्रमुख सल्लाहकार सिद्दी व्यञ्जनकारले सहभागी प्रशिक्षकहरूलाई बधाई तथा शुभकामना व्यक्त गर्दै राष्ट्रिय तेक्वान्दो संघमा देखिएको विवाद छिट्टै समाधान गर्न सरकार प्रतिबद्ध रहेको बताउनुभयो। उहाँले खेल क्षेत्रको विकासका लागि सबै पक्षबीच सहकार्य आवश्यक रहेको धारणा व्यक्त गर्नुभयो।

विशिष्ट अतिथि राष्ट्रिय स्वतन्त्र पार्टीको खेलकुद विभागका उपाध्यक्ष घनश्याम विष्टले खेलकुदलाई राज्यको प्राथमिकतामा राख्नुपर्नेमा जोड दिँदै सेमिनार सफलतापूर्वक सम्पन्न भएकोमा आयोजकलाई धन्यवाद दिनुभयो।

कार्यक्रमका सभापति तथा राष्ट्रिय तेक्वान्दो संघ–नेपालका अध्यक्ष महेश्वर फुँयालले संघसँग सम्बन्धित विषयमा सरकारको भूमिकाप्रति असन्तुष्टि व्यक्त गर्दै खेलकुद संस्थाको समस्या समयमै समाधान हुनुपर्ने धारणा राख्नुभयो।

संघका वरिष्ठ उपाध्यक्ष एकनाथ थापाले सेमिनारमा सहभागी प्रशिक्षकहरूलाई बधाई दिँदै आगामी दिनमा दक्ष रेफ्रीसँगै प्रतिभावान खेलाडी उत्पादनमा जोड दिनुपर्ने बताउनुभयो।

महासचिव तथा कार्यक्रमका प्रशिक्षक राकेश कुमार राईले राष्ट्रिय खेलकुद परिषद्ले संघको नवीकरण नगरेको भन्दै असन्तुष्टि जनाउनुभयो। उहाँले खेल प्रशासनलाई प्रभावकारी बनाउन आवश्यक सुधार गर्नुपर्ने उल्लेख गर्दै निकट भविष्यमै देशका ६५ जिल्लामा यस्ता सेमिनार सञ्चालन गर्ने योजना रहेको जानकारी दिनुभयो।

समापन कार्यक्रममा सेमिनारमा सहभागी प्रशिक्षकहरूलाई प्रमुख अतिथि, विशिष्ट अतिथि तथा अन्य अतिथिहरूले प्रमाणपत्र वितरण गरेका थिए।

कार्यक्रममा राष्ट्रिय तेक्वान्दो संघ–नेपालका अध्यक्ष महेश्वर फुँयाल, वरिष्ठ उपाध्यक्ष एकनाथ थापा, उपाध्यक्ष ध्रुव घले, उपाध्यक्ष तथा रेफ्री विभाग प्रमुख हरी बुढाथोकी, महासचिव राकेश कुमार राई, उपमहासचिव सोभित, केन्द्रीय सदस्य शेरबहादुर थापा मगर, गौतम महर्जन तथा कार्यक्रम सञ्चालक केन्द्रीय सचिव लाल श्रेष्ठलगायतको उपस्थिति रहेको थियो।


रेफ्री र प्रशिक्षकको क्षमता अभिवृद्धि कुनै पनि खेलको दीर्घकालीन विकासको आधार हो। यस्ता प्राविधिक सेमिनारले खेललाई व्यावसायिक र व्यवस्थित बनाउन टेवा पुर्‍याउने अपेक्षा गरिन्छ। तर, खेल संघभित्र देखिएका प्रशासनिक विवाद समयमै समाधान हुन सके मात्र खेलाडी, प्रशिक्षक र रेफ्रीले स्थिर वातावरणमा आफ्नो क्षमता प्रदर्शन गर्न सक्ने आयोजक को भनाई रहेको छ।

Share

जवाफ लेख्नुहोस्

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ