
काठमाडौँ, साउन ६ गते।
आईसीसी विश्वकप क्रिकेट लिग–२ अन्तर्गत नेदरल्यान्ड्समा जारी त्रिदेशीय एकदिवसीय शृङ्खलामा नेपालले निराशाजनक सुरुआत गरेको छ। पहिलो खेलमा कमजोर ब्याटिङ प्रदर्शन दोहोरिएपछि नेपाल नामिबियासँग ८ विकेटको फराकिलो अन्तरले पराजित भएको हो।
गएराति सम्पन्न खेलमा नेपालले प्रस्तुत गरेको १५८ रनको सामान्य लक्ष्य नामिबियाले केवल २ विकेटको क्षतिमा ३७.३ ओभरमै पूरा गर्दै प्रतियोगितामा विजयी सुरुआत गर्यो। लक्ष्य पछ्याउने क्रममा नामिबियाका अनुभवी अलराउन्डर जान फ्राइलिंक उत्कृष्ट लयमा देखिए। उनले अविजित ७७ रनको संयमित तथा जिम्मेवार इनिङ्स खेल्दै टोलीलाई सहज जित दिलाए। फ्राइलिंकले सुरुदेखि नै नेपालका बलरमाथि दबाब सिर्जना गर्दै कुनै ठूलो जोखिम नलिई लक्ष्यसम्म पुर्याए।
उनीसँगै माइकल भान लिङ्गेन ले ५१ रनको अर्धशतकीय इनिङ्स खेले। यी दुई ब्याट्सम्यानबीचको साझेदारीले नेपालको जितको सम्भावना सुरुमै समाप्त गरिदिएको थियो। नेपालका बलरहरूले अपेक्षाअनुसार दबाब बनाउन नसक्दा नामिबियाले खेल एकतर्फी बनाएको थियो।
नेपालका लागि नन्दन यादव र कप्तान रोहित पौडेल ले समान एक–एक विकेट लिए पनि अन्य बलरले प्रभाव जमाउन सकेनन्। स्पिन तथा पेस दुवै आक्रमण नामिबियाका ब्याट्सम्यानलाई रोक्न असफल रह्यो।
यसअघि टस हारेर पहिले ब्याटिङको निम्तो पाएको नेपाल सुरुदेखि नै दबाबमा परेको थियो। नियमित अन्तरालमा विकेट गुमाउँदै गएको नेपाल ४६ ओभर ५ बलमा १५७ रनमा समेटियो। शीर्षक्रमका ब्याट्सम्यानले ठूलो साझेदारी बनाउन नसक्दा नेपालले प्रतिस्पर्धात्मक योगफल खडा गर्न सकेन।
कप्तान रोहित पौडेल ले सर्वाधिक ३१ रन बनाए भने दीपेन्द्रसिंह ऐरी ले ३० रनको योगदान दिए। यी दुईबाहेक अन्य कुनै पनि ब्याट्सम्यानले जिम्मेवारीपूर्ण इनिङ्स खेल्न नसक्दा नेपालको इनिङ्स अपेक्षाभन्दा निकै कमजोर रह्यो। मध्यक्रम र तल्लोक्रम पनि नामिबियाको अनुशासित बलिङसामु टिक्न सकेन।
नेपाललाई सानो योगफलमा समेट्ने क्रममा नामिबियाका जेजे स्मिथ नायक बने। उनले घातक बलिङ प्रदर्शन गर्दै ६ विकेट लिए र नेपालको ब्याटिङ लाइनअपलाई ध्वस्त पारे। उनको उत्कृष्ट प्रदर्शन नै नामिबियाको जितको प्रमुख आधार बन्यो।
यस हारसँगै आईसीसी विश्वकप क्रिकेट लिग–२ को अंकतालिकामा नेपाल र नामिबिया दुवैको २९ खेलबाट समान २४ अंक पुगेको छ। यद्यपि राम्रो नेट रनरेटका आधारमा नेपाल पाँचौं स्थानमा कायम रहेको छ भने नामिबिया छैटौं स्थानमा छ।
नेपालले अब प्रतियोगितामा पुनरागमन गर्ने लक्ष्यसहित आफ्नो दोस्रो खेलमा घरेलु टोली नेदरल्यान्ड्स को सामना गर्नेछ। लगातार अंक जोड्दै शीर्ष चारमा स्थान सुरक्षित गर्ने नेपालको लक्ष्यका लागि आगामी खेल निकै महत्वपूर्ण मानिएको छ। पहिलो खेलको कमजोर ब्याटिङ र फितलो बलिङ सुधार गर्न सके मात्र नेपालले घरेलु टोलीविरुद्ध सकारात्मक नतिजा निकाल्ने अपेक्षा गरिएको छ।