
काठमाडौँ, साउन ५ गते ।
विश्व फुटबलको सबैभन्दा ठूलो महाकुम्भ २३औँ संस्करणको फिफा विश्वकप–२०२६ स्पेनले ऐतिहासिक सफलता हात पार्दै उपाधि जितेसँगै सम्पन्न भएको छ। अमेरिका, क्यानडा र मेक्सिकोको संयुक्त आयोजनामा भएको यस विश्वकपमा स्पेनले उत्कृष्ट प्रदर्शन गर्दै विश्व फुटबलको सर्वोच्च उपाधि दोस्रो पटक आफ्नो नाममा लेखाएको हो।

आइतबार राति अमेरिकाको न्युजर्सीस्थित मेटलाइफ स्टेडियममा सम्पन्न फाइनल खेलमा साविक विश्वविजेता अर्जेन्टिनालाई १–० गोलले पराजित गर्दै स्पेन विश्व च्याम्पियन बन्यो। निकै प्रतिस्पर्धात्मक र रोमाञ्चक बनेको फाइनलमा स्पेनले अनुशासित खेल प्रदर्शन गर्दै अर्जेन्टिनाको लगातार दोस्रो विश्वकप जित्ने सपना समाप्त पार्यो।
उपाधिसँगै स्पेनले इतिहासकै ठूलोमध्ये एक पुरस्कार रकम प्राप्त गरेको छ। विश्व फुटबल महासङ्घ (फिफा) ले विजेता स्पेनलाई पाँच करोड अमेरिकी डलर (करिब सात अर्ब ६६ करोड ५० लाख नेपाली रुपियाँ) पुरस्कार प्रदान गरेको छ। यो रकम अघिल्लो संस्करणको तुलनामा उल्लेखनीय रूपमा बढी हो। सन् २०२२ मा कतारमा सम्पन्न विश्वकपको विजेता अर्जेन्टिनाले चार करोड २० लाख अमेरिकी डलर पुरस्कार पाएको थियो।
फाइनलमा पराजित हुँदै उपविजेतामा सीमित अर्जेन्टिनाले तीन करोड ३० लाख अमेरिकी डलर पुरस्कार प्राप्त गरेको छ। तेस्रो स्थान हासिल गरेको इङ्ल्यान्डले दुई करोड ९० लाख अमेरिकी डलर तथा चौथो भएको फ्रान्सले दुई करोड ७० लाख अमेरिकी डलर पुरस्कार पाएको फिफाले जनाएको छ।
यसैगरी, प्रतियोगितामा पाँचौँदेखि आठौँ स्थानसम्म रहने टोलीले एक करोड ९० लाख अमेरिकी डलर, नवौँदेखि १६औँ स्थानमा रहने टोलीले एक करोड ५० लाख अमेरिकी डलर तथा १७औँदेखि ३२औँ स्थानमा रहने टोलीले एक करोड १० लाख अमेरिकी डलर पुरस्कार प्राप्त गरेका छन्। समूह चरणबाटै बाहिरिएका टोलीलाई पनि ९० लाख अमेरिकी डलर पुरस्कार प्रदान गरिएको छ।
फिफाका अनुसार विश्वकपमा सहभागी सबै ४८ राष्ट्रलाई प्रतियोगिताको तयारी खर्चस्वरूप थप १५ लाख अमेरिकी डलर उपलब्ध गराइएको थियो। यस व्यवस्थाले सहभागी राष्ट्रहरूलाई तयारी, प्रशिक्षण तथा व्यवस्थापनमा आर्थिक सहयोग पुगेको फिफाको विश्वास छ।
४८ टोलीको सहभागिता भने यो पहिलो पटक आयोजना गरिएको विश्वकप–२०२६ खेलकुद, व्यावसायिक सफलता, दर्शक सहभागिता तथा पुरस्कार राशिका दृष्टिले ऐतिहासिक बनेको छ। प्रतियोगिताभर विश्वभरका करोडौँ फुटबल समर्थकको ध्यान आकर्षित गरेको यस संस्करणले विश्व फुटबलमा नयाँ इतिहास रचेको छ भने स्पेनले उत्कृष्ट प्रदर्शनमार्फत आफूलाई पुनः विश्व फुटबलको शिखरमा स्थापित गरेको छ।
