काठमाडौं असार ३१ गते ।
नेपाल भलिबल लिग (एनभीएल) को फ्रेन्चाइज टोली अन्नपूर्ण स्पाइकर किङ्सले नेपाली राष्ट्रिय महिला भलिबल टोलीकी मुख्य सदस्य एवं चर्चित खेलाडी उषा भण्डारीलाई आफ्नो ब्रान्ड एम्बासडर नियुक्त गरेको छ ।
सुमिरा स्पोटर््स भेन्चरको स्वामित्वमा रहेको अन्नपूर्ण स्पाइकर र स्टार आउटसाइड हिटर उषाबीच तीन वर्षका लागि सम्झौता भएको हो । सम्झौता अनुसार उषाले टोलीको प्रवद्र्धनात्मक गतिविधि र प्रचार–प्रसारमा सहयोग गर्नुका साथै अन्नपूर्ण स्पाइकर्ससँग मिलेर नेपाली भलिबलको जग (ग्रासरुट) देखि नै यसको विकासमा महत्वपूर्ण भूमिका निर्वाह गर्नेछिन् ।
अन्नपूर्ण स्पाईकर्सका ओनर सुबोध त्रिपाठीले उषासँगको सहकार्यले पुरुष भलिबलको फ्रेन्चाईज लिगको विकासमा सहयोग पु¥याउने बताउदै भलिबल राष्ट्रिय खेल भएकोले नै भलिबल लिगमा पनि हामीले योगदान गर्न सकिन्छ भन्ने उद्देश्य रहेको बताए।
उषाले पहिलो पटक भलिबलकै लिगमा भलिबल खेलाडी ब्रान्ड एम्बासडर बन्दा खुशी लागेको बताइन् ।‘पहिलो म अन्य खेलहरु फुटबल, क्रिकेटमा जोडिएको थिए । म आफू पनि गण्डकीमा जन्मिएको र गण्डकीकै टिम अन्नपूर्ण स्पाईकरबाट पनि सुरुमै प्र्रस्ताव आएकोले मैले स्विकार गरेको हो ।’
नेपाल भलिबल लिगमा गण्डकी क्षेत्रको प्रतिनिधित्व गरिरहेको अन्नपूर्ण स्पाइकर र तनहुँ (गण्डकी प्रदेश) मा जन्मिएकी उषाबीचको यो सहकार्य विशेष र अर्थपूर्ण रहेको बताइएको छ । भलिबल प्रेमीहरूको बलियो पकड रहेको गण्डकी क्षेत्र र सोही क्षेत्रकी छोरी उषाको आवद्धताले क्लबको ब्रान्ड विस्तार गर्न र खेलाडीलाई ग्रासरुटमा जोडिन ठूलो मद्दत पुग्ने क्लबले विश्वास व्यक्त गरेको छ ।
घरेलु भलिबलमा नेपाल पुलिस क्लबबाट खेल्दै आएकी उषाले माल्दिभ्सका विभिन्न क्लबहरूबाट समेत व्यावसायिक भलिबल खेलिसकेकी छिन्, जहाँ उनको ठूलो फ्यान फलोइङ रहेको छ । सन् २०१९ मा मात्र १४ वर्षको उमेरमा १३औं दक्षिण एसियाली खेलकुद (साग) बाट डेब्यु गरेकी उषाले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय मञ्चमा लगातार उत्कृष्ट प्रदर्शन गर्दै आएकी छिन् ।
केडिया ग्रुपको आयोजनामा पहिलो पटक हुन लागेको ६ वटा टोली सहभागी नेपाल भलिबल लिगमा अन्नपूर्ण स्पाइकर्स र उषाको यो साझेदारीले समग्र नेपाली भलिबलको विकास र नयाँ खेलाडी उत्पादनमा टेवा पुग्ने क्लबको विश्वास छ ।
