बागमती प्रदेशस्तरीय मेयर कप:  बेथानचोक र गौरीशंखर विजयी

काठमाडौँ, असार २५ गते ।

ललितपुर महानगरपालिकाको सहयोग तथा जावलाखेल भलिबल प्रशिक्षण केन्द्रको आयोजनामा भइरहेको बागमती प्रदेशस्तरीय महिला तथा पुरुष मेयर कप भलिबल प्रतियोगिता अन्तर्गत बिहीबार भएको खेलमा पुरुषतर्फ ललितपुर ए र महाङ्काल गाउँपालिका विजयी भएका छन् । 

जावलाखेलस्थित भलिबल प्रशिक्षण केन्द्रमा भएको खेलमा ललितपुर महानगर ए ले  माडी नगरपालिकालाई ३–० को सोझो सेटमा विजय हात पारेको हो । ललितपुरले २५ -२३, २५ -१४, २५ -२१ को सेटमा माडीलाई  पराजित गरेको हो ।

त्यस्तै पुरुषतर्फकै अर्को खेलमा महाङ्काल गाउँपालिकाले  मेलुङ गाउँपालिकालाई  ३–१ को सेटमा पराजित गरेको छ। महाङ्कालले २१ -२५, २५ -२०, २५ -१८, २५- १७ को सेटमा महाङ्काललाई पराजित गरेको हो ।

महिलातर्फको खेलमा बेथानचोक गाउँपालिकाले ताकेश्वर नगरपालिकालाई ३–१  को सेटमा पराजित गरेको छ। बेथानचोकले २५ -२७, २५ -२३, २५ -२३, २५- २३, को सेटमा ताकेश्वरलाई पराजित गरेको हो ।

त्यसैगरी महिलातर्फकै अर्को खेलमा गौरीशंखर गाउँपालिकाले धुलिखेल नगरपालिकालाई ३–० को सोझो सेटमा पराजित गरेको छ। गौरीशंखरले २५ -२१, २५ -२२, २५ -२१ को सेटमा पराजित गरेको हो ।

प्रतियोगिताको विजेताले दुई लाख रुपैयाँ, उपविजेताले एक लाख रुपैयाँ तथा तेस्रो हुने टोलीले ५० हजार रुपैयाँ पुरस्कार प्राप्त गर्नेछन्। व्यक्तिगत विधातर्फ सर्वोत्कृष्ट खेलाडीले १० हजार रुपैयाँ प्राप्त गर्नेछन् भने उत्कृष्ट स्पाइकर, ब्लकर, सेटर र लिबेरोलाई जनही पाँच हजार रुपैयाँ पुरस्कार प्रदान गरिने आयोजकले जनाएको छ।

प्रदेशस्तरमा भलिबल खेलको विकास, खेलाडीको क्षमता अभिवृद्धि तथा स्वस्थ प्रतिस्पर्धाको वातावरण सिर्जना गर्ने उद्देश्यले आयोजना गरिएको प्रतियोगिता असार २७ गतेसम्म सञ्चालन हुनेछ। प्रतियोगितामा बागमती प्रदेशका महिला र पुरुष गरी १६ टोलीको सहभागिता रहेको छ।

Share

जवाफ लेख्नुहोस्

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ