बागमती प्रदेशस्तरीय मेयर कप भलिबल: ललितपुर र माडी विजयी

काठमाडौँ, असार २४ गते ।

बागमती प्रदेशस्तरीय महिला तथा पुरुष मेयर कप भलिबल प्रतियोगितामा पुरुषतर्फ आयोजक ललितपुर महानगरपालिकाले गल्छी गाउँपालिकालाई ३–० को सोझो सेटमा पराजित गरेको छ। 

बुधबार जावलाखेलस्थित भलिबल प्रशिक्षण केन्द्रमा भएको खेलमा ललितपुर महानगरले ३–० को सोझो सेटमा विजय हात पारेको हो ।  ललितपुरले  २५ -१०, २५ -७, २५ -६ को सेटमा गल्छीलाई पराजित गरेको हो ।

त्यस्तै अर्को भएको पुरुष खेलमा माडी नगरपालिकाले बुढानीलकण्ठ नगरपालिकालाई ३–२ को रोमाञ्चक सेटमा हरायो। पहिलो सेट २५– २० ले जितेको माडीले दोस्रो सेट २४ –२६ ले गुमायो ।  तेस्रो सेट २५ – १९ ले जितेको माडीले चौथो सेट २४ – २६ ले गुमायो । पाँचौँ सेटमा पुगेको खेलमा १५–१३ ले जित्दै माडी विजयी बन्यो।

ललितपुर महानगरपालिकाको सहयोग तथा जावलाखेल भलिबल प्रशिक्षण केन्द्रको आयोजनामा भएको बागमती प्रदेशस्तरीय महिला तथा पुरुष मेयर कप भलिबल प्रतियोगिता यही असार २७ गतेसम्म सञ्चालन हुने छ। 

प्रतियोगिताको विजेताले दुई लाख रुपैयाँ, उपविजेताले एक लाख रुपैयाँ तथा तेस्रो हुने टोलीले ५० हजार रुपैयाँ पुरस्कार प्राप्त गर्नेछन्। विधागत सर्वोत्कृष्ट खेलाडीले १० हजार रुपैयाँ पुरस्कार पाउनेछन् भने उत्कृष्ट स्पाइकर, ब्लकर, सेटर, लिबेरोलाई जनही पाँच हजार रुपैयाँ प्रदान गरिने आयोजकले जनाएको छ।

प्रदेशस्तरमा भलिबल खेलको विकास, खेलाडीको क्षमता अभिवृद्धि तथा स्वस्थ प्रतिस्पर्धाको वातावरण सिर्जना गर्ने उद्देश्यले आयोजना गरिएको  प्रतियोगितामा बागमती प्रदेशका महिला र पुरुष गरी १६ टोलीको सहभागिता रहेको छ।

Share

जवाफ लेख्नुहोस्

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ