काठमाडौं असार २३ गते ।
चीनको सिनाङमा पर्ने शान्नान सिटीमा भएको पोमिग्रानेट सिड फुटबल कप २०२६ को उपविजेता बनेको नेपाली टोली स्वदेश फर्किएको छ।
मंगलबार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा खेलाडीहरूलाई टोखा नगरपालिकाका मेयर प्रकाश अधिकारी, कार्यकारी प्रमुख कमल भट्टराई, खेलकुद संयोजक तथा टोखा नगरपालिका वडा न ३ का वडा अध्यक्ष नरोत्तम राना मगर, एन्फाका महासचिव दामोदर भट्टराई, केन्द्रीय सदस्य मनिस जोशी, भगवती क्लबका अध्यक्ष गणेशलाल श्रेष्ठ, क्लबका सदस्य लगायतले स्वागत गरेका थिए। साथै विमानस्थलमा डिभ्यानी विद्यालयका विद्यार्थीहरूले बाजागाजासहित खेलाडीहरूलाई स्वागत गरेका थिए। सोही अवसरमा टोखा नगरपालिका वडा न ३ का वडा अध्यक्षले वडा कार्यालयमा एक कार्यक्रमबिच खादा माला लगाएर खेलाडीहरूलाई स्वागत गरेका थिए।
चीनको शान्नान नगरपालिका वाणिज्य ब्युरोको आयोजनामा जुन १८ देखि जुलाई ४ सम्म भएको प्रतियोगितामा नेपालको तर्फबाट टोखाको भगवती क्लब सहभागी भएको थियो । फाइनल खेल युशु छिन्घेई क्लबसँग खेलेको नेपाल २-० ले पराजित हुँदै लिगको उपविजेता बनेको थियो ।

