लिटिल एञ्जेल्स स्कुल चेसमा रनिश र प्रकृति अगाडि 

काठमाडौँ, असार १८ गते ।

नेपाल बुद्धिचाल महासङ्घको तत्त्वावधानमा सञ्चालन भइरहेको लिटिल एन्जल्स डे बोर्डिङ अन्तर स्कुल बुद्धिचाल प्रतियोगिताको पाँचौँ चरण खेल सम्पन्न हुँदा रनिश श्रेष्ठ र प्रकृति बस्नेत शीर्ष स्थानमा छन्।

लिटिल एञ्जल्स स्कुलको स्पोर्ट्स गतिविधि अन्तर्गत चौथो संस्करणको प्रतियोगितामा सहभागी २११ जना विद्यार्थी बिच छात्रतर्फ रनिशले सबै प्रतिद्वन्द्वीलाई पराजित गर्दै ५ अङ्कका साथ शीर्ष स्थान कब्जा गरेका छन्। 

प्रतिस्पर्धामा समान ५ अङ्क जोडेका हृदय श्रेष्ठ ‘माकजु’ र प्रलेश महर्जन अपराजित रहँदै संयुक्त रूपमा अग्रता कायम गर्न सफल भएका छन्। कूल ९ चरणको स्पर्धा मध्ये पहिलो दिन धर्मेश श्रेष्ठ, अभिनव पाण्डे, विश्वास गुरुङ ४.५ अङ्क सहित संयुक्त दोस्रो स्थानमा रहेका छन्।

बौद्धिक बुद्धिचाल खेलमा समान ४.५ अङ्क प्राप्त गर्दै अमूल्य श्रेष्ठ, आराध्य श्रेष्ठ, लियोनल मेस्सी राई, सुहङ्गेम लिम्बू, प्रिन्स पाण्डे, उनेश मग्राति, त्रियान बञ्जाडे, इभान भुषाल, आर्यन झा, अस्मयु कँडेल, श्रेयस धँजु श्रेष्ठ, अधिराज बहादुर सिंह, सिभिल रावत, क्रिश्चल लम्साल, राज अधिकारी र सारांश श्रेष्ठ संयुक्त तेस्रो स्थानमा छन्।

यसैगरी छात्रातर्फ प्रकृति बस्नेत सँगै समान पूर्ण ५ अङ्क बनाएका अभिव्यक्ति तामाङ संयुक्त शीर्ष स्थानमा छन्। यिनीहरूलाई पछ्याउँदै श्रेया लामा ४.५ अङ्क जोडेर एकल दोस्रो स्थानमा उभिएका छन्।

युश्रा ताम्राकार सहित ४ अङ्क बोकेर कडा प्रतिस्पर्धामा सुम्निमा राई, आश्ना प्रधान, लूनिभा: श्रेष्ठ, आकांक्षा थापा, दिया चापागाईं संयुक्त तेस्रो स्थानमा छन् भने ऋतिशी ओझा र गरिमा केसी समान ३.५ अङ्कमा सम्भावना ज्युँदो राखेका छन्।

लिटिल एञ्जल्स स्कुल डे बोर्डिङका प्रधानाध्यापक श्रीमती सरोज्ना राईले निरन्तर चौथो संस्करण बुद्धिचाल प्रतियोगिता आयोजना गरेर विद्यार्थीहरूमा तार्किक तथा विश्लेषणात्मक सोचको विकास, एकाग्रता र स्मरण शक्तिमा वृद्धि, समस्याको सहज समाधान र सही निर्णय लिने अद्वितीय क्षमता वृद्धि भएको बताएका छन्। 

सरोज्ना राईले धैर्यता, अनुशासन, दीर्घकालीन योजना बनाउने बानीले मस्तिष्कलाई सक्रिय बनाई गणित र पठन सीप जस्ता शैक्षिक क्षमतामा सकारात्मक प्रभाव स्पष्ट देखिएको बताए।

उनले कार्यक्रमको सफलता संयोजक विनोय कुमाइ, शिक्षिका राजश्री श्रेष्ठ, सिमा खड्कामा निहित रहेकोले बधाई ज्ञापन गरेका छन्। उनले स्कुलमा चेसको कक्षा सञ्चालन गरिने  जानकारी गराए।

नेपाल बुद्धिचाल महासङ्घका अध्यक्ष हेराकाजी महर्जन, प्रवक्ता राजु ताम्राकार, प्रमुख निर्णायक एफए सोराज ताम्राकार, एफए हरिकृष्ण श्रेष्ठ, एनए असुन राजकर्णीकार समेतको उपस्थितिमा सञ्चालन प्रतिस्पर्धा शुक्रबार सम्पन्न हुनेछ। 

Share

जवाफ लेख्नुहोस्

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ