राष्ट्रिय बक्सिङमा आर्मीको दबदबा

काठमाडौँ, असार १५ गते ।

३० औँ पुरुष तथा ११औँ महिला राष्ट्रिय बक्सिङ प्रतियोगिताको महिला ५१ केजी तौल समूहमा आरती भोम्जनले बागमतीकी मनीषा राईलाई ५–० को एकपक्षीय नतिजामा हराएकी छिन् ।

त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद् (राखेप) को कभर्डहलमा भएको खेलमा भोम्जनले राईलाई ५–० को एकपक्षीय नतिजामा हराएकी हुन् ।

त्यस्तै ५४ केजीमा वर्षा श्रेष्ठले एपिफकी कृष्णा गौचनलाई समान ५–० ले हराउँदै स्वर्ण जितिन् । ६० केजीमा पुनम रावलले पुलिसकी नारिका राईलाई कुनै अवसर नदिई ५–० ले हराइन् ।

महिलाकै ६५ केजीमा चन्द्रकला थापाले पुलिसकी लक्ष्मी घर्ती मगरमाथि पनि ५–० कै सहज जित निकालिन् । महिलातर्फ ७५ केजीमा भने कोशी प्रदेशकी नुमा लिम्बुले आर्मीकी निरु गुरुङलाई ५–० ले पराजित गर्दै स्वर्ण पदक जित्न सफल भइन् ।

पुरुष ५५ केजी तौलसमूहमा आर्मीका प्रेम चौधरीले मधेश प्रदेशका लक्ष्मण राईलाई ५–० ले हराउँदै स्वर्ण जिते । ६० केजीमा आर्मीकै नितेश नेपालीले बागमतीका मिलन सार्कीलाई ५–० ले पराजित गरे । पुरुष ७० केजीमा गेशकुमार श्रेष्ठले सुदूरपश्चिमका भरत चन्दलाई ५–० ले हराउँदै उपाधि जिते । ८० केजीमा दीपक श्रेष्ठले कर्णाली प्रदेशका मनोज तामाङलाई ५–० ले हराउँदै स्वर्ण हात पारे ।

पुरुष ९० केजीमा भने प्रतिस्पर्धात्मक खेल बन्यो । आर्मीका मदन कार्कीले गण्डकी प्रदेशका किरण विकलाई ३–२ को विभाजित निर्णयमा हराउँदै स्वर्ण जिते । सुपर हेभिवेट (९० प्लस केजी) मा आर्मीका गणेश प्रधानले एपिएफका गोकुल गुरुङलाई ३–२ ले हराउँदै आर्मीलाई अर्को स्वर्ण दिलाए ।

Share

जवाफ लेख्नुहोस्

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ