काठमाडौँ, असार ३ गते ।
४६ औँ चेस ओलम्पियाड एवं २६ औँ राष्ट्रिय पुरुष तथा ११ औँ राष्ट्रिय महिला बुद्धिचाल प्रतियोगिताको चौथो दिन सातौँ चरणसम्म रुपेश जैसवाल र कृतिसरा अधिकारीले अग्रता कायम गरिरहेका छन्।
पुरुष तर्फ एफएम रुपेश जैसवालले ६ जीत र १ बराबरी खेल प्रदर्शन गरी ६.५ अङ्क जोडेका छन्। वर्तमान नेपाल च्याम्पियन रेटेड रुपेशले प्रतिस्पर्धामा दबदबा कायम गर्दै उपाधि रक्षा तर्फ अग्रसर देखिएका छन्।
एफएम रुपेशले अघिल्लो २ स्पर्धामा आशिष् फुयाँल र सिएम पुरुषोत्तम चौलागाईं माथि जीत दर्ता गरेका थिए। २०६७ रेटेड रुपेश आठौँ चरण पुछारका धिरेन राई सँग प्रतिस्पर्धामा छन्।
यस्तै दोस्रो स्थानमा रहेका रिसोन थापाले ५.५ अङ्क जोडेर शीर्ष खेलाडीलाई पछ्याइरहेका छन्। २०६१ रेटेड रिसोनले यस अघि सिएम पुरुषोत्तम चौलागाईं र धिरेन राईलाई पराजित गरेका थिए। रिसोन एआईएम अभीक शाहसँग स्पर्धामा छन्।
यसैगरी पूर्व नेपाल च्याम्पियन तथा वर्तमान तृतीय राजन सुवेदी र वर्तमान नेपाल उपविजेता पुरुषोत्तम सिलवाल समान ४.५ अङ्क बनाएर संयुक्त तेस्रो स्थानमा छन्। १९४४ रेटिङ राजनले अभीक र ज्वाला ईम्बुङ दुवै सँग बराबरी खेले।
युवा २०३४ रेटेड पुरुषोत्तम सिलवालले सुश्रुत दाहाल र आशिष् फुयाँल सँग बराबरी खेल खेल्दै सम्भावना जीवित राखेका छन्। नेपाल उप विजेता सिएमले पहिलो खेल एफएम रुपेशसँग हार व्यहोरेका थिए।
आशिष् र मुहान नरसिंह श्रेष्ठको समान ३.५ अङ्क छ। ज्वाला ईम्बुङको ३ अङ्क, एआईएम अभीक शाहबो २.५ अङ्क, सिएम पुरुषोत्तम चौलागाईंको २ अङ्क, कमल श्रेष्ठको १.५ अङ्क र धिरेन राईको १ अङ्क रहेको छ।
राष्ट्रिय खेलकुद परिषद्ले गठन गरेको प्रतियोगिता सञ्चालन समितिको रेखदेखमा बुधबार महिलातर्फ शीर्ष खेलाडी कृतिसरा अधिकारीले ५.५ अङ्कका उपाधि तर्फ अगाडि बढेकी छिन्।
कृतिसरालाई पछ्याउँदै विनीता कपाली ५ अङ्क जोडेर दोस्रो स्थानमा उभिएकी छिन्। विनीताले प्रविशा दवाडी र पुनम प्रसाईंलाई हराइन्।
४ जना महिला खेलाडी समान ४.५ अङ्क जोडेर प्रतियोगितालाई रोचक मोडमा पुर्याएका छन्। प्रिया क्षेत्री, निहाना श्रेष्ठ, सिन्दिरा जोशी र पूजा भण्डारी संयुक्त तृतीय स्थानमा छन्।
एञ्जल महर्जन र शुशीला गुरुङको समान ३.५ अङ्क बनेको छ। ईशा गिरि ३ अङ्क, प्रविशा दवाडी १.५ अङ्क, नुमा सुब्बा तथा पुनम प्रसाईंको समान १ अङ्क रहेको छ।
११ चरणको खेल एक आपसमा प्रतिस्पर्धा गरी ओलम्पियाड छनोट तथा राष्ट्रिय शीर्ष वरियता निर्धारण गरिने प्रतियोगिताको अन्तिम ४ चरण बाकी रहेको सदस्य राजु ताम्राकारले जानकारी गराएका छन्।
