काठमाडौँ, जेठ २८ गते ।
विश्व फुटबलको महाकुम्भ- फिफा विश्वकप २०२६ बिहीबार मध्यरातिबाट सुरु हुँदैछ ।
ऐतिहासिक समारोहसँगै सुरु हुन लागेको यसपटकको विश्वकप अघिल्ला सबै संस्करणभन्दा फरक हुनेछ ।
किनभने यसपटकको विश्वकप पहिलोपटक तीन देश– अमेरिका, मेक्सिको र क्यानडाले संयुक्त रुपमा आयोजना गर्दैछन् ।
विश्वकपको इतिहासमा पहिलो पटक ४८ टोली सहभागी हुँदैछन् । यसअघि ३२ टोली खेल्ने प्रतियोगितामा अब थप १६ राष्ट्रहरुले विश्व फुटबलको सबैभन्दा ठूलो मञ्चमा आफ्नो उपस्थिति जनाउने अवसर पाएका छन् ।
प्रतियोगिता १६ शहरमा आयोजना हुँदैछ, जसमा अमेरिकाका ११, मेक्सिकोका ३ र क्यानडाका २ शहर समावेश छन् । जुलाई १९ मा न्युयोर्क-न्यु जर्सीस्थित मेटलाइफ रंगशालामा हुने फाइनल खेलसहित च्याम्पियन टोलीले कूल ८ खेल खेल्नेछ ।
पछिल्लो पटक अमेरिकाले सन् १९९४ मा विश्वकप आयोजना गरेको थियो । जतिबेला मात्र २४ टोली थिए । १५औं संस्करण त्यतिबेला ५२ खेल भएका थिए । यसपाली टोली र खेल संख्या ठ्याक्कै दोब्बरले बढेको छ ।
