राष्ट्रिय स्पोर्ट क्लाइम्बिङ च्याम्पियन हुने

काठमाडौँ, जेठ २६ गते ।

नेपाल क्लाईम्बिङ स्पोर्ट सङ्घको आयोजनामा  राष्ट्रिय स्पोर्ट क्लाइम्बिङ च्याम्पियन २०२६ प्रतियोगिता हुने भएको छ। 

मंगलबार पत्रकार सम्मेलन गर्दै सङ्घले यही जेठ ३० गते शनिबार प्रतियोगिता हुने जानकारी दिएको हो। 

अन्तर्राष्ट्रिय क्लाइम्बिङ स्पोर्ट महासङ्घको नियम र मापदण्ड अनुसार हुने प्रतियोगितामा देशभरिबाट १७ वर्ष उमेर पुगेका खेलाडीहरूले सहभागिता जनाउन सक्ने छन्। 

एक दिने प्रतियोगितामा क्वालिफिकेसन राउन्ड र फाइनल राउन्ड हुने सङ्घले जनाएको छ। महिला र पुरुषतर्फ फाइनल चरणको प्रतिस्पर्धापछि अङ्कको आधारमा विजेता खेलाडीको घोषणा गरिनेछ । विजयी खेलाडीहरूलाई नगद पुरस्कारका साथै मेडल, प्रमाणपत्र समेत प्रदान गरिने छ। 

प्रतियोगिता सञ्चालनको अवधिमा सुरक्षाको प्रत्याभूति हुने गरी भइपरी आउने शारीरिक समस्या, जोखिम तथा दुर्घटनालाई मध्यनजर गरी सहभागी खेलाडीहरू तथा खेल प्राविधिक व्यक्तिहरूको न्यूनतम अवधिसम्मलाई बिमाको व्यवस्था गरिने पनि आयोजकले जनाएको छ ।

प्रतियोगिताको मूल उद्देश्य यस खेल र यस खेलकुदमा आबद्ध हुने सम्पूर्ण खेलाडी, खेलकर्मी, प्राविधिक व्यक्ति र अन्य पक्षहरूको मनोबल उच्च बनाउने र यस क्षेत्रको विकास प्रवर्द्धन गर्नुका साथै देशमा साहसिक खेल र पर्यटनको प्रचार(प्रसार गरी राजश्वमा टेवा पुर्‍याउनु समेत रहेको आयोजकले जनाएको छ ।

Share

जवाफ लेख्नुहोस्

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ